- 'चार दलका नेता जहाँ पुग्छन्, त्यहीँ जिल्ला बन्द'
प्रकाशित मिति: ११ असोज २०७० | किरातसंसार संवाददाता
दमक– मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले चुनाव बिथोल्न थप कार्यक्रम घोषणा गरेको छ । शुक्रबार अध्यक्ष कुमार लिङ्देनले विज्ञप्ति जारी गर्दै थप आन्दोलनको घोषणा गरेको हो ।
अध्यक्ष लिङ्देनद्वारा हस्ताक्षरित विज्ञप्तिमा १७ असोजमा कोशीपूर्वका नौ जिल्लामा सडक बन्दको आयोजना गरिएको छ । सो दिन प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने दिन पर्दछ ।
चुनावी प्रक्रियाको विरोध गर्दै आइरहेको मञ्चसम्बद्ध लिम्बुवानले सो दिन पूर्वका नौ जिल्लामा अपराह्न ४ बजेसम्म सडक यातायात बन्द गर्ने जनाएको छ ।
विज्ञप्तिमा जनाएअनुसार २ कार्तिकदेखि निर्वाचनका निम्ति तयार रहेका उम्मेदवारहरुलाई गाउँ प्रवेशमा रोक लगाउने भएको छ । विज्ञप्तिमा उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलका प्रतिनिधि जहाँजहाँ पुग्छन्, त्यहीँ जिल्ला बन्द गर्नेसमेत जनाएको छ ।
यसैगरी ७ कार्तिकमा उर्लाबारीदेखि दमकसम्म दस हजार लिम्बुवान भोलेन्टियर्सको मार्चपास गरिने जनाएको छ । यसअघि पनि विभिन्न समयमा लिम्बुवानले मार्चपासको कार्यक्रम गर्दै आइरहेको छ ।
यसपछि ११ कार्तिकमा कोशीपूर्वकै नौ जिल्लामा आमहड्तालको आह्वान गरिएको छ । २५ कार्तिकदेखि ५ मंसिरसम्म दस दिन नेपाल बन्द हुने जनाएको छ ।
लिङ्देन नेतृत्वको लिम्बुवानले सुरुदेखिनै खिलाराज रेग्मी सरकार, उच्चस्तरीय राजनीतिक समिति र निर्वाचन प्रक्रियाको विरोध जनाउँदै आइरहेको छ । उनीहरुले यस कार्यलाई राष्ट्रघाती कदमको संज्ञासमेत दिँदै आइरहेको छ । अहिले लिङ्देन नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा आबद्ध छ ।
No comments:
Post a Comment