काठमाडौं, मंसिर २७ – सत्तामा पुग्नुअगावै नेपाली कांग्रेसले आफ्नो पुरानै स्वभाव प्रदर्शन गर्न थालेको छ । प्रतिपक्षमा रहँदा एकढिक्का हुने र सत्तामा जाँदा आपसमै लड्ने कांग्रेसको यदुवंशी चरित्र फेरि सडकमा पोखिन थालेको छ । संविधानसभामा पहिलो दल हुनासाथ नेपाली कांग्रेसभित्र सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीचको शक्तिसंघर्ष फेरि चर्किएको छ ।
सत्ता समीकरणको खेलमा देउवाले पुरानै स्टाइल अपनाउन थालेका छन् । केही मिहिनेत र आइडिया लगाएमा प्रधानमन्त्री नै बन्न सकिने देखिएपछि देउवाले सत्ता समीकरणको दाउपेच थालेका हुन् । कांग्रेस सूत्रका अनुसार संविधानसभामा कांग्रेसको कुल १०५ स्थानमध्ये देउवा पक्षधर ५८ जना सभासद् निर्वाचित भएका छन् । समानुपातिकका कुल ९१ स्थानमध्ये देउवाले आफूहरुलाई ४५ स्थान दिनुपर्ने दावी सभापति कोइरालासँग गरेका छन् । सभापति कोइरालाले ४५ हैन, ३७ जनासम्म दिन सकिने वचन दिइसकेका छन् । सभापति कोइराला पक्षधर नेताहरुले देउवा पक्षबाट ३० जना सभासद् मात्र चयन गर्नुपर्ने दाबी गरिरहेको भए पनि सभापति कोइरालाले नै ३७ जना दिने वचन दिइसकेकाले त्यसबाट उनलाई पछिहट्न सम्भव छैन ।
समानुपातिकबाट प्राप्त हुने ३७ र प्रत्यक्षका आफ्ना पक्षधर ५८ जोड्दा कुल ९५ सभासद् आफ्नो पक्षमा हुने देउवा पक्षको हिसाब छ । त्यसैले देउवा पक्ष यतिवेला थप १० सभासद्लाई आफ्नो पक्षमा पार्ने खेलमा लागेको बताइन्छ । फकाएर, मनाएर, मन्त्रीको लोभ देखाएर मात्र नभई किनेरै भए पनि १० सभासद् थप्ने तयारीमा भएका देउवाले संसदीय दलमा सभापति सुशीललाई हराइदिने रणनीति अख्तियार गरेका छन् ।
देउवा निकट सूत्रका अनुसार अब कांग्रेसबाट सभापति सुशील कोइराला प्रधानमन्त्री बन्न सक्ने सम्भावनामा कालो बादल मडारिन थालेको छ । यसका लागि स्वयं सभापति कोइराला नै जिम्मेवार भएको सूत्रको दावी छ । शुरुमा देउवाले सभापति प्रधानमन्त्री भएमा आफूलाई कार्यवाहक सभापति दिनुपर्ने प्रस्ताव राखेका थिए । आफू निकटका नेता प्रकाशशरण महतलाई सभापति कोइराला समक्ष पठाएर कार्यवाहक सभापति देउवालाई दिंदा सन्तुलन मिल्ने प्रस्ताव राख्न लगाएका थिए । तर, सुशीलले प्रकाशशरणलाई ठाडै हप्काउँदै कुनै हालतमा कार्यवाहक सभापति नदिने जवाफ दिएका थिए ।
पार्टी सभापति र प्रधानमन्त्री दुवै आफैं हुने सुशीलको तयारी बुझेपछि देउवाले भनेका थिए, ‘अब संसदीय दलमै भिडिन्छ ।’ सुशीलको हठका कारण देउवालाई संसदीय दलमा एक्सन लिन सजिलो पनि भएको छ । अर्कोतिर, देउवाले एमाले र कांग्रेसको कुरा नमिल्ने आकलन गरिसकेका छन् । एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने अडान राख्दा सुशील पक्षधर नेताहरुले त्यो कुनै हालतमा सम्भव नभएको बताइसकेका छन् । एमालेले राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक पद कुनै हालतमा नछाड्ने, कांग्रेसले रामवरणलाई नै कायम राख्ने अडान लिने । यो जटिलताका कारण कांग्रेस र एमालेको सत्ता समीकरण सहज देखिंदैन । कांग्रेसले प्रधानमन्त्रीका लागि रामवरणलाई बलि चढाउन पनि अब मिल्दैन । त्यसो गरेमा सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदको लोभमा आफ्नै सहकर्मीलाई राष्ट्रपति पदबाट हटाएको सन्देश जान्छ ।
उता, पार्टीको समीकरणमा पनि सुशीलकै अडान अब उनकै लागि समस्या हुँदैछ । कांग्रेस नेता खुमबहादुर खड्काका अनुसार पार्टी सभापतिले अब कार्यवाहक सभापति देउवालाई दिंदा पनि गलत सन्देश जान्छ । ‘प्रधानमन्त्री बन्न सुशील दाइले पार्टी नै छाड्नुभयो भन्ने सन्देश जान्छ । उहाँ जस्तो त्यागी नेताले प्रधानमन्त्री बन्न अब पार्टी नै छाड्नुहोला, अरुलाई नै पार्टी जिम्मा दिनुहोला भन्ने मलाई लाग्दैन । त्यसैले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो’, खुमबहादुरले भनेका छन् । पहिला पनि अन्य दलले सभापति कोइरालाको नाम प्रधानमन्त्रीका लागि चर्चा गर्दा पार्टी छाडेर प्रधानमन्त्री खान नगएको खुमबहादुर बताउँछन् ।
श्रोत: रातोपाटि



