
पूर्वी युक्रेनमा जारी तनावलाई लिएर अमेरिका र रुसबीचको वाक्युद्ध चर्कदै गएको छ।
पूर्वी युक्रेनमा गरिएको सुरक्षा कारवाहीको निन्दा गर्दै रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले कियभले आफ्नै नागरिकहरुविरुद्ध युद्ध शुरु गरेको बताएका छन्।
लाभ्रोभले एक साताअघि जिनिभामा भएको सहमतिअनुरुप जारी तनाव मत्थर पार्नका लागि रुसले सहयोग गर्ने पनि बताए।
तर युक्रेनका अन्तरिम प्रधानमन्त्रीले सैन्य र राजनीतिक ढंगबाट मस्कोले युक्रेनमाथि कब्जा जमाएर तेस्रो विश्वयुद्ध शुरु गर्न चाहेको बताएका छन्।
यसअघि अमेरिकी विदेशमन्त्री जोन केरिले युक्रेनको तनाव मत्थर पार्नका लागि भएको सहमतिपछि एउटा पनि सकारात्मक कदम चाल्न रुस असफल भएको आरोप लगाएका थिए।
रक्तपातपूर्ण
लाभ्रोभले पूर्वी युक्रेनमा पृथकतावादीहरुविरुद्धको कारवाहीलाई रक्तपातपूर्ण अपराधको संज्ञा दिए।
उनले त्यसको लागि कियभ सरकार न्यायको दायराभित्र आउनुपर्ने बताए।
"युक्रेन अत्यन्त गहिरो संकटमा छ। जिनिभामा भएको सहमतिअनुसार तनाव मत्थर पार्नका निम्ति सहयोग गर्न रुस तयार छ।"
सेर्गेइ लाभ्रोभ, विदेशमन्त्री, रुस
लाभ्रोभले भने, ‘’युक्रेन अत्यन्त गहिरो संकटमा छ। जिनिभामा भएको सहमतिअनुसार तनाव मत्थर पार्नका निम्ति सहयोग गर्न रुस तयार छ।
तर म भन्न चाहन्छु कि एकतर्फी माग राखिनु हुँदैन र कोही कोही हामीमाथि त्यस्तो माग थोपर्न चाहन्छन्।
सर्वप्रथम म भन्न चाहन्छु त्यो अमेरिका हो, जोसँग जे कुरा पनि आफु अनुकूल उल्ट्याउन सक्ने विशाल क्षमता छ।‘’
विश्वयुद्ध
लाभ्रोभको उक्त भनाई लगत्तै युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनि यात्सेन्युकले सैनिक तथा राजनीतिक तवरबाट युक्रेनमाथि कब्जा जमाएर र बाँकी युरोपमा समेत फैलिने गरि द्वन्द्व सृजना गरेर रुसले तेस्रो विश्वयुद्ध चाहेको टिप्पणी गरे।
यसअघि अमेरिकी विदेशमन्त्री केरिले पूर्वी युक्रेनमा रुसले छलकपट, धोका, अस्थिरता निम्त्याएको आरोप लगाउँदै जारी तनाव मत्थर पार्नका लागि सहयोग गर्न वा थप प्रतिबन्धको सामना गर्न मस्कोलाई चेतावनी दिए।
यसअघि रुसले पूर्वी युक्रेनमा मस्को समर्थक पृथकतावादीहरुविरुद्धको कारवाही कियभलाई रोक्न लगाउन अमेरिकालाई आग्रह गरेको थियो।
रुसले उक्त कारवाहीसँगै सीमा क्षेत्रमा नयाँ सैनिक अभ्यास थाल्न आदेश दिएको छ।
उक्त कार्यको युक्रेनले निन्दा गरेको छ।
मस्कोले युक्रेनसँगको सीमा क्षेत्रमा दशौ हजार सेना तैनाथ गरेको छ।
युक्रेनका कार्यवाहक रक्षामन्त्री मिखाइल कोभालले रुसी सैनिकहरु सीमाको एक किलोमिटर नजिक रहेको समाचार एजेन्सी इन्टरफ्याक्स युक्रेनलाई बताएका छन्।
पूर्वी युक्रेनमा भईरहेका गतिविधिलाई लिएर रुस र अमेरिकाबीच वाक्युद्ध जारी रहेका बेला उक्त समाचार आएको हो।
केन्द्रीय सरकारको अवज्ञा गर्दै रुस समर्थक पृथकतावादीहरुले युक्रेनको पूर्वी क्षेत्रका दर्जनौं शहरहरुमा रहेका मुख्य सरकारी भवनहरुमा कब्जा जमाएका छन्।
साभार!!



