Saturday, August 23, 2014

विध्वंस शहरको विधवा - टंक वनेम ( श्लेष्मान्तकको साम्माङ्)

श्लेष्मान्तक साम्माङ्

विध्वंस सहरको विधवा 


-टङ्क वनेम

पाल्म रुखहरुको पातमा बसेर बथानमा उड्ने चराहरु चिर्बिराई रहेका थिए। सन १९८० सालको सेप्टेम्बर महिना हुनु पर्छ। एक बिहान खवर पत्रिका पढेर हुक्काको सर्को गुडगुडाउँदै मेरो बाबा सादकारी साद कड्कनु भयो। दाजु भाई र एउटै धर्ममा सदाशयता नहुने हामी मान्छेहरु। बाबा के भन्दै हुनु हुन्छ मलाई केही थाहा थिएन। सात बर्षको उमेरमा लडाइँवारे वास्ता पनि हुँदैन्थ्यो। केहीवेर पछि आमाले भन्नु भएको थियो। इराक/इरानवीचको युद्ध चर्किने भएकोछ। धेरै टाढा टाढा बम बिस्फोट र तोप गोलाका आवाजहरु सुनिए पनि बग्दादको अमिल क्षेत्रमा लडाइँको अनुभव गर्नु परेन। बग्दादको कुनै कुनै क्षेत्र वाहेक दुई देशवीचको सीमानामा भएको ८ बर्षको लडाइँ उत्तै साम्य भएको थियो। समय बित्न पो कति लाग्दो रहेछ र। अब्दुल जारा मेरो पछि लाग्न थाले पछि झसङ्ग भएकी थिएँ। मेरो माध्यमिक स्तरको पढाई सकिएको थियो। अब्दुल जारा मेरै टोलको ठिटो थियो। मेरो सहपाठी अब्दुल जारा मौका पायो कि कुनै न कुनै निहुँ बनाएर बोलाउँने गर्दथ्यो। कसो कसो मेरो मन जित्न सफल भयो। एक दिन उसले हिम्मत बटुलेर भन्यो,फतिमा म शिया हुँ भन्ने कुरा त थाहा होला नी? मैले भनेँ,किन नहुनु तिमीले मलाई गरेको चोखो प्रेम नै सबै थोक हो। अब्दुल जारा र मेरो सम्बन्ध गाडा हुँदै गयो। मेरो बाबाले पनि त्यो सम्बन्धमा कुनै भाँजो हाल्नु भएन। हाम्रो विवाह पनि भयो। अब्दुल जाराको बाबुले इराकी फ्ल्याट रोटी,खबुस र केक्को कुटिर उद्योग चलाउँने गरेका रहेछन्। अब्दुल जारा कलेज जान छाडेर त्यही रोटी बनाउँने उद्योगमा काम गर्न थाल्यो। हामी बाबुकै घरको तलामाथि बस्न थाल्यौं। त्यही बसाइमा हाम्रा तीन छोरा र दुई छोरीहरु जन्मिए।

सन १९९०/१९९१ सालको दोश्रो गल्फ युद्धको कारण हाम्रो ब्यपार खस्कन्दै गएको थियो। जे भए पनि जीवन धान्ने बाटो त्यही कुटिर उद्योग थियो। अमिल क्षेत्रमा इराकी फ्ल्याट रोटी,खबुस र केक् बिक्रि गर्न अब्दुल जारा दिन भरि खटी रहन्थे। मलाई पाँच जना छोरा छोरीको हेरचाह गर्दै दिन वित्ने गर्दथ्यो। दुःख सुःखले जीवनको रथ गुडाई रहेका थियौं। शुक्रवार मस्जिदबाट फर्के पछि अब्दुल जारा,मेरो बाबु सादकारी साद र रइद काका देशकोवारेमा प्रायः छलफल गरि रहन्थे। मेरो बाबा सुन्नी थिए। अब्दुल जारा र रइद काका शिया।

कहिले कहीँ उनीहरु वीच भनाभन नै चल्ने गर्दथ्यो। मेरो बाबा सद्दाम हुसेनको पक्ष लिन्थे। अब्दुल जारा र रइद काका सद्दाम हुसेनको विरुद्धमा तर्क पेश गर्दथे। एक दिन चर्काचर्की नै परेको थियो। मेरो बाबा भन्दै हुनु हुन्थ्यो,गधाले दाइँ गर्छ तर उसले मौका पायो भने टोक्छ। त्यो सेफि्टक भयो भने मान्छे नै मरिन्छ। गधा नभए घोडाले पनि दाइँ गर्न सकिन्छ। तर घोडाको रिस उठ्यो भने लात्ती हान्छ। घोडाको लात्ती लागेर घुँडा फुस्के पनि मरिदैन्। तिमीहरुले मर्ने कुरा गर्दैछौ। इराकको आत्मा नै सद्दाम हुसेन हुन। यो देशमा सद्दाम हुसेन भएनन् भने बोका जस्ता गधाहरुको दाइँ हुनेछ। बोका जस्ता गधाहरुले यो देशको दाइँ गर्न सक्दैनन्। रइद काका तुरुन्त प्रश्न गर्थे,अल्लाहको नाममा नर्भ ग्यास प्रयोग गरेर जनता मार्ने शासकले हामीलाई न्याय गर्न सक्छन् त? अब्दुल जारा एक कदम अघि बढेर सद्दामको विरुद्धमा बोल्थे। कुर्दिसहरुलाई त मारे मारे तर कुवेत जस्तो स्वतन्त्र राष्ट्रमाथि जाई लाग्नु आफ्नो दुर्दिन निम्त्याउँनु हो। उनीहरु घण्टौं यस्तै वादविवाद गरेर समय कटाउँथे।

जव सन दुई हजार साल लाग्न शुरु भयो,सहर भरी लडाइँको त्रास फैलिएको थियो। सन २००३ मार्चको दोश्रो हप्ताको एक बिहान पत्रिका पढेर बाबा मुर्मुरिनु भयो। पत्रिका पढि सकेर हामीलाई पनि पढ्न दिनु भयो। पत्रिकामा लेखिएको थियो। इराकले अत्यधिक मात्रामा अवैधानिक अस्त्र भण्डार गरेकोछ अरे। सन्धि विपरित अस्त्र भण्डार गरिएका क्षेत्रहरुमा सद्दाम सरकारले लचकता नअपनाएको हुनाले सद्दाम सरकार विरुद्ध पश्चिमा शक्तिहरुले आक्रमण गर्ने भएका छन्। मार्चको तेश्रो हप्ताको एक बिहान रइद काका हस्याङ फस्याङ गर्दै आई पुगे। उनको मुखबाट फुस्केको अशुभ समाचारले शरीर नै सिरिङ्ग बनायो। ल वर्वाद हुने भयो। बाबाले नाकको डाँडीमा अडिएको चस्मा अलि माथि उचालेर प्रश्न गर्नु भयो,रइद काका तिमी ठिकै त छौ? श्वास रोक्न खोज्दै रइद काका भन्दै थिए। अस्त्र भण्डार निरिक्षण गरिए पनि अमेरिकाको शङ्का हरण भएनरे। त्यसको अर्थ लडाइँ हुने भयो। बाबाको मुहार सपाट थियो र उनका मुलायम हात लयबद्ध ढङ्गले जुँगा मुर्सान व्यस्त थिए। उनले नम्र तर दिक्दार लाग्दो छोटो उत्तर दिए। रइद काका तिमी नडराउ अल्लाहको मेहरबानी जे हुन्छ त्यही भोग्नु पर्दछ। रइद काका भन्दै थिए,दुई देश वीचको लडाइँ त ठिकै थियो तर हामी (शिया र सुन्नी) वीचको सौहार्दता पो भड्किने हो कि? बाबा अवाक्क भएर आँगनबाट घर भित्र पस्नु भयो। रइद काका अँध्यारो मुख लगाएर आफ्नो घरतिर लागे।

खवर पत्रिका,टेलिभिजन जताततै लडाइँकै होहल्ला चल्न थाल्यो। आतङ्कित र भयाबहको स्थितिमा दिन बित्न लाग्यो। रोटीको व्यपार नचलेर चौपट भए पनि अब्दुल जाराले आफ्नो काम छाडेका थिएनन्। लडाइँ शुरु हुनु अघिल्लो दिन सबै परिवार भेला भयौं। रइद काका हाम्रो पाहुना बनेर आएका थिए। उनी रसिक त थिए नै,अव यो देशमा के हुँदैछ भन्ने राम्रा जानकार पनि। उनी भन्दै थिए,भोली देखि हामीलाई ओताउने आकाश माथिको बगैँचा भत्किनेछ। मोहम्मद पेगाम्बरले सुन्नु भयो भने त्यो बगैँचा भत्काउने मानवहरुप्रति सजाय मिलोस। बाबाको जवाफ थियो। रइद काका,तिमीले अल्लाहसंग अनुरोध गरेनौ,मोहम्मद पेगाम्बरले त्यो समाचार अल्लाह कहाँ पुर्‍याउँदा ढिलो भई सक्नेछ। अब्दुल जारा थप्थे,शिया र सुन्नीवीचको यो अनमेल देखेर सत्रुहरु हाँसेका छन्। जसको परिणाम हामी सबैले भोग्नु पर्नेछ। रातभर निन्द्रा लाग्दैन्थ्यो। टाढा टाढा तोप गोला र बन्दुक पड्किन थालेको थियो। हामी “विस्मिल्लाहिर्रहमानिर्रहीम” “ला इला ह इल्लल्लाह मुहम्मदुर्रुसुल्लाह” भन्दै निदाउने प्रयत्न गर्दथ्यौं।

अर्को साँझ करिव सात वजेतिर बग्दादको कुनै ठाउँमा विशाल बम विस्फोट भएको आवाजले सहर थर्काएको थियो। रोटी बनाउने कामलाई सुचारु राख्न जाउँ कि नजाउँ भन्ने दोधार मन लिएर अब्दुल जारा आफ्नो काममा लाग्नु अघि भन्दै थिए,महमुदलाई जिम्मा लगाएर आउँछु होला। साँझपख घर फर्केका अब्दुल जाराको अनुहार सधैँ जस्तो उज्यालो थिएन। उनको अनुहार अँध्यारो र अन्योलको रङ्ले पोतिएको थियो। उनले अलि मसिनो स्वरमा भने “उम नुर परिस्थिति भयङ्कर डर लाग्दो होला जस्तोछ”। मेरो छोटकरी प्रश्न थियो, किन? उनले भने “शियाहरुलाई हात हतियार उपलब्ध गरिएकोछ भन्ने खवरछ। सुन्नीको बीउ नराख्ने भन्दैछन्। उनीहरुको योजनामा साथ नदिँदा चिढिएर गएका छन्। रइद काकाले पनि बेस्सरी सम्झाएर पठाएका छन्”।

विशेष रात भरी धर्तीलाई कम्पन गर्दै बम विस्फोड भई रहन्थ्यो। अप्रिल दश पछि बम बर्षक विमानहरुको आक्रमण त कम भयो। तर साम्प्रदायिक दंगा भड्किएकोले कतै हिँड्नु ज्यानको वाजी थाप्नु पर्ने जस्तै भएको थियो। लडाइँ शुरु भएको करिव एक बर्ष पछि एक दिन रोटी बनाउने उद्योग बन्द गरेर आउँछु भनेर हिँडेका अब्दुल जारा फेरी फर्केर आएनन्। रइद काकाको भनाई अनुसार उनी कार बम विस्फोटमा मारिए। उनको शरीरको अङ्गहरु क्षत विक्षत भएको हुनाले उनको मृत लासको चिहान बनाइएन। मेरो श्रीमानको मृत्यु भए पछि मेरो समाजले सहयोग गर्छ होला भन्ने झनो आशा थियो। किन भने छरछिमेकमा शिया र सुन्नी असाध्यै मिलेर बसेका थियौं। तर अमिल नगर र सारा देशमा साम्प्रदायिक दंगा यसरी भड्किएको थियो कि दुवै पक्ष घृणाको सन्निपातले बहुलाउन थालेका थिए। शिया र सुन्नी एक अर्कालाई फुटेको आँखाले हेर्न चाहदैन्थे। बरु एक अर्कालाई समाप्त गर्न तम्सेका देखिन्थे। अमिल शिया बहुल सहर थियो तर म सुन्नीको छोरी थिएँ। मेरो श्रीमानको हत्या भएको केही महिना पछि शियाहरुको एक समुहले मेरो भाइको हत्या गरे। उसलाई घरबाट कठालोमा समातेर निकालिएको थियो। त्यस पछि सडकै सडक लखेटेर एक छिमेकीको घरमा पुर्‍याए पछि गोली ठोकिएको थियो। मेरो भाईको हत्याराहरु घाइते बाघ झैं देखिन्थे। भाइका हत्याराहरुले मेरो जेठा छोरा हाम्दीलाई पनि घरबाट निकालेर घिसार्न थाले। मेरै आँखा सामुन्ने गोली बर्षाएर उनको प्राण लिए। उनीहरु कति सम्म बर्बर थिए भने मेरो सात बर्षको भतिज मजिदलाई समेत बाँकी राखेनन्। मेरो छोरा र भतिजको अपराध यति थियो कि उनीहरुको आमा र बाबु सुन्नीका सन्तान थिए। अव मेरा सन्तानहरुलाई बचाउँनको लागि सुन्नी क्षेत्रमा बसाइँ सर्नु बाहेक मसंग अर्को विकल्प थिएन। यहीँ कुरा सोँची रहेको थिएँ। अमिल नगरका जावीर (स्थानिय मादी सेनाका नाइके) दलबल सहित घर भित्र छिर्‍यो। मेरा आमा बाबुहरुलाई जवरजस्ति भ्यानमा लगाएर लगिए। उनीहरुलाई कहाँ लगियो? किन लगिएको हो? कुनै खोज खवर पाउँने सम्भावना रहेन। बाँच्नु थियो म सुन्नी क्षेत्रको आबु गराइवमा बस्न थालेँ। तर सुन्नीहरुले पनि मेरो दुःखको अन्त्य हुने नाम लिई रहेका थिएनन्। म सुन्नी भए पनि मेरो श्रीमान अब्दुल जारा शिया थिए। म र मेरा सन्तानको दुर्भाग्य शिया क्षेत्रमा उनीहरु सुन्नी हुन्थे। किन भने म उनीहरुको आमा सुन्नी थिएँ र सुन्नी क्षेत्रमा उनीहरु शिया हुन्थे किन भने उनीहरुका बाबु अब्दुल जारा शिया थिए। तिनै कठिनाईहरुको बाबजुत सुन्नी क्षेत्रको आबु गराइवमा बस्न थाल्यौं।
बमबार्डले भत्काएको भूताहा घर नजिकैको जन्नाह (अराबिक–मुसलमानहरुको चिहान,मकबरा वा बाखी) अलकार्खमा मलामीहरुको लागि पानीको धारा जोडिएको थियो। त्यहीबाट पानीको जोहो गर्दथ्यौं। गाउँ टोल र जन्नाहतिर पलास्टिक र टिनका क्यानहरु बटुल्थ्यौं। कुनै बेला सादत भन्ने थोत्रा टिन व्यपारी कहाँ टिन र अन्य धातुहरु छुट्याउने काम गरेर पाएको पैसाले खबुस किनेर ल्याउँथ्यौं। छोरा छोरीहरु बन्दी झैं भत्केको घर भित्र थुनिएका थिए। मलाई राम्ररी थाहाछ। दश प्रन्द्र बर्ष अघि शिया र सुन्नी वीच यस्तो कुनै असहिसुष्णता थिएन। मेरो श्रीमान अब्दुल जारा शिया थिए र म सुन्नी। तर बिना कुनै रोकटोक हाम्रो विवाह सम्पन्न भएको थियो।

धेरै मान्छेहरुले सोँचेका थिए। सद्दाम हुसेनको पतन हुँदा खासै फरक पर्ने छैन्। तर सद्दाम हुसेनको पतन हुन लाग्दै बमविस्फोट र गोली हानाहानको भयानक सिलसिला शुरु भएको थियो। मेरो श्रीमानको हत्या भएकै बर्ष अमिल जिल्लामा सुन्नी सम्प्रदायका हजारौं जनावी जनजातिका मानिसहरु मारिए। धेरै जनावी परिवारहरु अमिल नगर छाडेर अन्त कतै जाँदै थिए। तर मेरो शरण लिन जाने ठाउँ कतै थिएन। त्यसैले मैले आफ्नो जन्म घर नछाड्ने निर्णय गरेको थिएँ। तर दिनहरु वित्दै जाँदा अमिल क्षेत्रमा मेरो सन्तान सहित मेरो ज्यानको सुरक्षा हुने छैन् भन्ने महसुस भयो। जीवनभरी जसलाई मैले आफ्नो जन र ठाउँ ठानेकी थिएँ। उनीहरुबाटै अलग गरिए पछि त्यो ठाउँमा बसि रहनुको औचित्य देखिन। एक बिहान ढोकामा जे देखियो,त्यो दृश्यले मुटुमा तीर हाने जस्तै भयो। लेखिएको थियो, “तुरुन्त यो घर छोड् नत्र राम्रो हुने छैन्”। त्यसको एक हप्ता पछि खाजा बनाई रहेको बेला एक हुल बच्चाहरु रइद काकालाई मारे,रइद काकालाई मारे भनेर चिच्याउँदै मेरो भान्सा कोठामा पसे। पुरानो सम्बन्ध भएका छिमेकी रइद काका आफ्नै बाबु जस्तै थिए। रइद काका मारिएको खवर सुनेर पैतालामुनीको जमिन भासिए जस्तै भयो। जसोतसो हिम्मत बटुलेर बच्चाहरुलाई पछ्याउँदै रइद काका मारिएको ठाउँ सम्म पुगेँ। बच्चाहरु नजिकैको घरमा छिरे। त्यस घरका मानिसहरु थर्रथरी कामी रहेका थिए। महिलाहरु रोई रहेका थिए। रइद काकाको शरीर रगतले लतपत्तिएको थियो। उनको टाउकोमा एक गोली र छातिमा दुई गोली हानिएको रहेछ। मैले त्यो दृश्य राम्ररी हेर्न सकिन। पछि सुनेँ रइद काका भाग्दा भाग्दै त्यस घरमा छिरेका रहेछन्। त्यस घरका दयालु मानिसहरुले रइद काकालाई लुक्न दिए पनि मादी सेनाका लडाकाहरुले मारी छाडे छन्। रइद काका शिया भएर पनि मादि सेनाको पछि नलाग्ने भए पछि मारिएको रहेछ। आश्रय दिएको अपराधमा त्यस घरका मानिसहरु एकै चिहान हुन सक्थे। धन्न अल्लाहको कृपाले उनीहरुको ज्यान जोगियो।

ममेरो बच्चाहरु र मेरो भाइका परिवारको ज्यान जोगाउन अमिल जिल्ला छाड्नै पर्ने भएको थियो। तर घरका सामान त्यसै छाडेर भाग्न सकिन्।  सामान ओसार्न लाग्ने भ्यान नभएकोले म टिभी र फ्रिज छिमेकीहरुलाई बेच्नतिर लागेँ। त्यही नै मेरो ठूलो गल्ति भयो। रइद काका मारिएको भोलि पल्ट टिभी र फ्रिज बेच्न खोज्दा खोज्दै दिन बित्यो। अर्को दिन ती सामानहरु बेचे पछि मैले एकजनालाई सामान ओसार्न भ्यान बोलाउन पठाएँ। हामी भ्यान पर्खन लाग्यौं भने मेरो माइला छोरा अली अहमदलाई लिएर आफ्ना साथीहरुसंग विदा माग्न गयो। उ गएको एकै छिन पछि मेरो घरमा एक हुल मानिसहरु पसे। उनीहरुको अनुहार कालो कपडाले ढाकिएको थियो। उनीहरुले बन्दुक बोकेका थिए। उनीहरु घरको चोटा कोठा चाहार्दै जताभावी गोली बर्षाइ रहेका थिए। उनीहरु मध्ये एउटाले सोध्यो,तेरो छोरो भनाउँदो कहाँछ? कहाँछ तेरा भाईका छोराहरु? ती विषालु सर्पका बच्चाहरु कहाँ छन्? विषालु सर्पलाई मारेर त्यसका बच्चाहरुलाई त्यसै छाड्नु हुँदैन भन्ने उखान त तँलाई थाहा नै होला? म उनीहरुको पाउ परेँ,रोएँ,कराएँ,चिच्याएँ। अल्लाहको नाममा मेरो छोरा र मेरा भाईका बच्चाहरुको जीवन बक्स देउ भनेँ। तर ढुङ्गाको मुटु भएका ती निर्दयीहरुको मुटु पग्लेन।

खुदाहापिस बोल्न गएको मेरो माइला छोरा घरमा बित्यास आइ परेको थाहा पाएपछि मेरो भाईको सानो छोरा अहमदलाई लिएर हस्याङ फस्याङ गर्दै घर आई पुग्यो। उ आफ्नी आमालाई अर्थात मेरो ज्यान बचाउन चाहन्थ्यो। उसको बाबु र दाजुको मृत्यु भए पछि घर सम्हाल्ने त्यही छोरा थियो। हत्याराहरुले अलि र अहमदलाई उनीहरुको गाडीमा राखेर लगे। कोही भने मेरो भाईको अर्को छोरा अब्दुल्लाहलाई खोज्दै थिए। हाम्रो अनुनयविनय र अलापविलापले उनीहरुलाई एकरत्ति पनि छोइ रहेको थिएन। तर पनि म चिच्याइ रहेकी थिएँ। छाति पिटि रहेकी थिएँ। कपाल लुछि रहेकी थिएँ। केही वेर पछि बन्दुक पड्केको आवाज सुनियो।
ढ्याङ......
ढ्याङ......ढ्याङ...... मेरो मुटुलाई एउटा ठूलो पहाड भत्केर थिचे जस्तो भयो। म रुन सकिरहेको थिइनँ। मेरो मुखबाट कुनै वाक्यहरु निकाल्न सकिरहेको थिइनँ। म भुइँमा थचक्क बसेकी थिएँ। चारैतिर अँध्यारो भएको महसुस गरेँ। कतिखेर मेरा छोरीहरुले तानेर घर भित्र लगेछन्। मलाई केही होस थिएन। केही घण्टा पछि जव सामान ओर्सार्ने भ्यान आइ पुग्यो,म झल्यास ब्यूँझीएँ। रइद काकालाई लुक्न दिने दयालु छिमेकीहरु भनी रहेका थिए। फतिमा तिमी यसरी बसि रह्रयौ भने तिम्रा बाँकी सन्तानहरुलाई पनि बचाउँन सक्ने छैनौं। आफुलाई सम्हाल र यहाँबाट भागी हाल्। मेरा छिमेकीहरुले बचेखुचेका सामानहरु भ्यानमा लगाइ दिए। मेरा छोरा र भतिजोको पार्थिव शरीर म गएको ठाउँमा पुर्‍याइ दिने वचन दिए। मेरा बाँकी परिवार सहित भाइ बुहारीका दुइ जना बच्चाबच्ची लिएर हामी आबु गराइव भन्ने सुन्नी नगरमा आइपुग्यौं। म छोराहरुको मृत्युमा यति शोकविह्ल थिएँ कि तीन दिन सम्म चुपचाप बसिरहेँ। न रुन्थेँ,न बोल्थेँ,न खान्थेँ। मेरा छिमेकीहरुले मेरो छोरा र भतिजोको लास पठाई दिए। जन्नाहमा लगेर सतगत गर्ने हुती थिएन। बमबार्डले भत्काएको घर नजीक कसैले छाडेर गएको घरको बगैँचामा लगेर पुरि दियौं। आधीरात पछि निन्द्रा खुल्थ्यो वा निन्द्रै लाग्दैन्थ्यो। नजिकै रहेको अलकार्ख जन्नाहमा बुलबुल चरोको सुरिलो स्वर सुनि रहन्थेँ। अमिल नगरमा हुँदा पनि अमिल नगरको बगैँचामा त्यसरी नै बुलबुलचरो गाउँने गर्दथ्यो। तर ति सुखमय दिनहरु र मेरा वर्तमान रातदिनहरुमा आकाश पतालको फरक थियो। मेरा सानो छोरा युसुफ आधारातमा ब्यूँझेर आमा भोक लाग्यो भन्थ्यो। हाम्रो बाजे बज्यै,बाबु र दाजुहरु कहाँ गएका हुन? उनीहरु कहिले फर्केर आउँछन् भनेर प्रश्न गर्दथ्यो। मसंग न छोराको भोक शान्त गर्ने रोटी हुन्थ्यो। न बाजे बज्यै,उसको बाबु र दाजुहरु फर्केर आउँछन् भन्ने शान्त्वना दिने उत्तर थियो। उसलाई के थाहा उनीहरु अव कहिल्यै पनि फर्केर आउने छैनन् भन्ने कुरा।

त्यस्तो दुख पाएको सम्झदा बग्दादमा रहेको महिला शरणार्थी शिविरतिर जाउँ कि जस्तो पनि लाग्थ्यो। तर इराकी विधवा शरणार्थी शिविरमा सामान्य नागरिक र अमेरिकन विरोधी विधवाहरु एउटै शरणार्थी शिविरमा राखिएका थिए। अमेरिकन विरोधी र अमेरिकी सैनिक दुवै पक्षलाई लाग्दो रहेछ। त्यहाँ भित्र बसेर इराकी विधवाहरु भयङ्कर योजना बनाई रहेका हुन्छन्। हुन पनि शरणार्थी शिविरका कुनै कुनै विधवाले शरीरभरि आत्माघाती बम बेरेर अमेरिकी सैनिक क्यापभित्र छिर्दै बम विष्फोट गराउँथे। त्यस पछि अमेरिकी सैनिकले इराकि विधवा शिविरमा बम प्रहार गर्दथ्यो। सयौं इराकि विधवा मारिन्थे र सयौं घाइते हुन्थे। यस्तो घटना थाहा पाई पाई शरणार्थी शिविरमा जान आँट आएन। बरु त्यही बमबार्डले भत्काएको भूताहा घर नै सुरक्षित थियो। विध्वंस सहरको कथा गिदीबाट निकालेर सधैँको लागि फालुँ झैं लाग्थ्यो। तर जीवनले भोगेको आतंकको अविर त्यती सजिलै नमेटिदो रहेछ। अहा! अब्दुल जारासंग विताएका ति रमाइला दिनहरु। टाइग्रिस र युफ्रेटस नदीमा बोटिङ गर्दै माछा मारेका समर साँझ। हुक्कावारमा सोनावाथ लिँदै अब्दुल जारा भन्ने गर्दथ्यो। “उम नुर म तिमीलाई कहिले पनि दुःख हुन दिन्नँ”। हुन पनि उ बाचुन्जेल मलाई कुनै दःख थिएन। भाइको सानो छोरा तालीव ब्यूँझेर उसको आमालाई पिरोल्थ्यो। रुँदै भन्थ्यो आमा भोक लाग्यो। हामीसंग केही खाने कुरा हुँदैन्थ्यो। हुन पनि किन भोक नलागोस,दुइ टुक्रा इराकी फ्ल्याट रोटी र पानी ख्वाएर सुताएका हुन्थ्यौं। भतिजो तालीवलाई हौसला दिन्थेँ,बाबु अहिले चुप लागेर सुत। उज्यालो भए पछि खबुस किनेर ल्याउनेछु। हाम्रो चित बुझाउँने ठाउँ यति मात्र थियो। इराक र संसारभरी हामी जस्ता लाखौं विधवाहरु छन्। मेरो बुहारी र मैले जे जस्तो दुःख भोगी रहेका छौं,उनीहरुले पनि त्यही दुःख भोगी रहेका छन्। हामीले दुःख मान्नु हुन्न। अल्लाहको कृपा भए हामीले फेरी पनि सुःखमय जीवन विताउँन पाउनेछौं।

अलकार्ख जन्नाहमा बुलबुल चरो चिर्बिराउँन छाडे पछि पूर्वी क्षितिजमा उज्यालो रङ पोतिन्थ्यो। त्यही बेला कतै टाढाको मस्जिदबाट “अल्लाह–हो–अकबर” को सुमधुर आवाज गुन्जि रहेको हुन्थ्यो। भत्किएका झयाल ढोकाहरुबाट उज्यालो किरणहरु छिरे पछि उठेर पानी तताउथ्यौं र अघाउन्जेल पिउथ्यौं। अलकार्ख जन्नाहमा मान्छे पुरिने कार्य बिहान देखि साँझसम्म टुट्दैन्थ्यो। आइमाइका समुहहरु छाती पिटिपिटि रुइ रहेका हुन्थे। विध्वंस सहरको विधुवा मध्ये हामी पनि थियौं। तर न हामीले हाम्रो श्रीमानहरुको लास देख्न पायौं न उनीहरुलाई जन्नाहमा लगेर सदगद गरी गाड्ने मौका नै मिल्यो। हाम्रो आँसु उनीहरुको अन्तिम विदाइको लागि विदाको फूल हुन सकेन। तिनै आँसुका फूलहरु मुटुमा काँडा भएर उमि्र रहेकैछ। थाहा छैन् टाइग्रिस र युफ्रेटस नदी किनारमा काँस फुलेर हावाले उडाए जस्तो हाम्रो मन पनि कहिले सम्म उडि रहने हो। यसो भन्दै बडो कस्ट साथ जीवन बिताई रहेका थियौं। मैले सुनेको थिएँ। मानिसहरुको रक्षाको लागि अल्लाहले आफ्ना फरिस्ता(देवदुत) हरुलाई पठाउँने गर्दछन्। ती फरिस्ताहरुले जुनसुकै रुपधारण गर्न सक्छन्। सम्भवतः त्यही आस्थाको स्तम्भ नडगमगाएको हुनाले म वेलायत आई पुगेँ। तर जीवनमा हजारौं दुःख भोग्न परे पनि आखिर मेरो इबादतगाह(प्रार्थना स्थल) त्यही अमिल र इराक हो। मलाई जन्नत (स्वर्ग) जानुछ। त्यही इबादतगाह फर्किने यात्राको तयारीमा तिमीसंग भेट भयो। तर अर्को दुई महिना पछि मेरो कथा सुन्न पाउने छैनौ। न इराकी वाइट्रेसको हातबाट तातो तातो चिया पिउन पाउनेछौ।

फतिमाको आत्मा कथा टुङ्गिएको एक हप्ता भई सकेको थियो। एक दिनको लन्चब्रेकमा फेरी उनको आत्मा कथाकै प्रसंग अघि बढयो। मेरो मुखबाट अचानक यी शब्दहरु फुस्किए। “फतिमा तिम्रो जीवनका भोगाईहरु त एउटा कथा बनी सकेको रहेछ”। फतिमाले मुश्कुराउदै भनिन्। “युद्धका पीडाहरु हुन ति त। वेलायतमा कसरी आई पुगेँ,अझ अर्को चाख लाग्दो कहानीछ। तर युद्ध मैदानमा भोगेका मेरो भोगाईहरु कथा बनाएर लेख्यौ भने मेरो नाम “फतिमा” नलेख्नु “उम नुर” लेख्नु। अब्दुल जारालाई मन पर्ने नाम भएको हुनाले उनी मलाई “उम नुर” नामले बोलाउने गर्दथे”।


(फागो वनेम वंशावाली ईतिहास , संगीतको मुर्च्छना, साँघुर्र र बुढा सुब्बा , पेन्जिरी पेन्मिक्हा जस्ता (ईतिहास,कविता संग्रह ) कृतिहरू प्रकाशन गरि सकेका व्याक्तिहुन टंक वनेम । उनले बजारमा ल्याउन लागेका "श्लेष्मान्तकको साम्माङ्" कथासंग्रहमा संग्रहित २१ कथा मध्येको एक कथाको अंश हो "बिध्वंस शहरको विधवा" )


ईबोला बिमारीको सफल उपचार गर्यो अमेरिकाले

अमेरिकाले गर्यो इबोला रोगको सफल उपचार

भदौ ६, (एजेन्सी) – अमेरिकाले खतरनाक रोग इबोलाको सफल उपचार गरेको समाचार प्राप्त भएको छ । अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा इबोला भाइरसको सफल उपचार सम्पन्न भएपछी यो रोगको आतंकदेखि मानिसलाई राहत हुने बताइएको छ ।

अमेरिकामा इबोला भएका २ जना रोगीलाई उपचारपछि इबोला सङ्क्रमणबाट निको भएरै घर फर्काइएको बताइएको छ । लाइबेरियामा कार्यरत दुई जना अमेरिकी नागरिक सो सङ्क्रमणबाट सङ्क्रमित भएका र उनीहरुलाई हवाईजहाजमा विशेष व्यवस्थाका साथ अमेरिकाको एटलान्टामा ल्याई उपचार गराएका थिए । ती दुई नागरिकलाई एटलान्टाको एक अस्पतालमा शिशाको विशेष कक्षमा बन्द काठोका रुपमा राखेर उपचार गरिएको र निको भएपछि उनीहरु बिहीबार अस्पतालबाट डिस्चार्ज गराईएको समाचार छ । इबोला सङ्क्रमणलाई निकोपार्ने अहिलेसम्मकै सबैभन्दा भरपर्दो विकल्पका रुपमा यो नयाँ औषधि पत्ता लागेको भए पनि यसको उपलब्धताका बारेमा भने केही पनि बताइएको छैन ।

दुई अमेरिकी चिकित्सक केन्ट ब्रान्टी र नान्सी रिटबलले सो सङ्क्रमणको औषधि पत्ता लगाएका हुन् । नान्सी ३३ वर्षीय र रिटबोल ६० वर्षीय चिकित्सक हुन् । अफ्रिकाका विभिन्न देशहरुबाट सङ्क्रमण सुरु भई एकहजार भन्दा बढी नागरिकको ज्यान गएपछि अमेरिकामा गरिएको यो प्रयासले सफलता हासिल गरेको बताइएको छ । यो सङ्क्रमणबाट अहिलेसम्ममा कम्तीमा पनि एक हजार ३५० जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

तीन हप्ताअघि ती दुई जनालाई विशेष विमानबाट अमेरिकाको एटलान्टा लगिएको थियो । हवाईजहाज चढ्नुअघि पनि उनीहरुलाई चिकित्सकले प्रारम्भिक औषधि दिएका थिए । एटलान्टाको अस्पतालमा उनीहरुलाई तीन हप्तासम्म ती दुई चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको थियो । उपचारपछि निको भएर घर फर्किएका ती दुई बिरामीले आगामी दिनमा सो इबोला भाइरस जनस्वास्थ्यको समस्याका रुपमा नरहेको प्रमाणित गरेका छन्– सो अस्पतालका निर्देशक ब्रस रिबनरले बताए ।

पश्चिमी अफ्रिकी मुलुकहरुमा निकै ठूलो मात्रामा सङ्क्रमण फैलिएको इबोलाबारे यो खबरले राहत दिने समाचार एजेन्सीहरुले जनाएका छन् । इबोला रोगबारे उपचारको प्रयास नै नभएको भने हैन तर आज सम्म कसैले यो रोगबाट बच्ने उपचार बिधी पत्ता लगाउन सकेका थिएनन् । अफ्रिकी मुलुकले मात्र यो रोगको निदानको लागि ठुलोमात्रामा धन राशी खर्च गरिसकेको छ भने अन्य बिकशित मुलुकका डाक्टरहरु यो रोगको उपचार खोज्न तल्लिन छन् । साथै इबोला सङ्क्रमणको नियन्त्रणक पहिलो प्रयासका लागि भन्दै विश्व स्वास्थ्य संगठनले १० करोड अमेरिकी डलर बराबरको प्रारम्भिक कोष स्थापना गरिसकेको छ ।

इबोला सङ्क्रमणबाट सबैभन्दा बढी पीडित देश लाइबेरिया हो । सो देशमा मात्र यस सङ्क्रमणबाट ५७६ जनाको ज्यान गइसकेको छ । त्यसका साथै गुयना र सेनेगलमा पनि सङ्क्रमण बढ्दो मात्रामा रहेको छ । त्यस्तै अन्य अफ्रिकी देशहरुमा पनि यसको सङ्क्रमण बढ्दो मात्रा रहेको छ ।

Thursday, August 21, 2014

चक्काजाम पछि लाक्पा परिवारले १० लाख पाउने ।

 काठ्माण्डौ,भाद्र ५-   गत साउन २९ गते सिम्जुङ गाविस ६, सिरानडाँडाका ६२ वर्षिय लाक्पा तामाङको प्रहरीको गोली प्रहारबाट मृत्यू भएको घटनाको विरोधमा आदिवासी जनजाती महासंघ जिल्ला समन्यवन परिषदले गोरखा सदरमुकामको हरमटारीमा चक्का गरेको छ ।

गोरु काटेको विषयमा भनाभन हुँदा प्रहरी गोली हानेर घटनामा संलग्न नभएको ब्यक्तीलाई घाईते बनाएको भन्दै परिषदले विहान १० बजे देखि चक्काजाम गरेको जनाएको छ । गोरखा सदरमुकामको हरमटारीमा जम्मा भएका आदिवासीहरुले नारावाजी गर्दै विरोध प्रदशन गरिरहेका छन् ।

उनीहरुले गोली हान्ने प्रहरीलाई ज्यान मारेको उद्योगमा मुद्धा चलाउनुपर्ने, चौकी ईन्चार्जलाई विभागिय कारवाही गनुपर्ने, पिडित परिवारलाई १० लाख क्षतीपूर्ती दिनुपर्ने, मृतक लामाको शव काठमाण्डौँबाट हेलिकप्टरमा गाउँमै पु¥याउनुपर्ने लगायतका आठ बुँदे माग राखेका छन् । चक्का जाम भएसँगै जिल्ला सदरमुकाम भित्रने र सदमुकाम बाट बाहिरिने सवारी साधन चल्न सकेका छैन् ।

आदिवासी अधिकारकर्मी, मृतकको परिवार र गृहमन्त्री वीच बुधबार भएको छलफलमा मृतकको परिवारलाई १० लाख रुपैया उपलब्ध गराउने सहमति भएको छ । गृहले यस सम्वन्धमा अर्थलाई पत्र लेख्ने काम समेत भएको हो । मृतक लाक्पाको शवलाई केही दिनपछि सेनाको हेलिकोपटर मार्फत गोरखा पुर्याईदिने निर्णय समेत भएको स्रोतले जानकारी दिए पनि धर्मनिरपेक्षता सँग बाझिन आएका एनहरुलाई शंसोधन गर्ने भन्नेमा चै सबै मौन छन।

Wednesday, August 20, 2014

एसिसी यु–१६ क्रिकेटः मलेसियालाई हराउँदै नेपाल च्याम्पियन


 काठमाडौँ, भदौ ४– आयोजक राष्ट्र मलेसियालाई ३२ रनले परजित गर्दै नेपाल एसीसी य- १६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नेपालले यो पटक उपाघिी मात्रै जितेन अघिल्ल्ो संकरणमा भोगेको हारको पनि बदला लिएको छ ।अघिल्लो संस्करण सन् २०१२ मा भएको एसिसी यु-१६ प्रिमियर लिग क्रिकेटमा मलेसियाले नेपाललाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यस्तै नेपाल सन् २०१० मा भएको सो प्रतियोगितामा पनि नेपाल उपविजेता बन्दै घर फकिएको थियो । उक्त उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको थिएन ।
मलेसियास्थित किनारा ओभल मैदानमा बुधबार भएको खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया ३६ दशमलब २ ओभरमा १ सय २९ रन बनाउँदा अल आउट भयो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो । नेपालका पवन सर्राफले ४४, रवि चन्दले ३४ रनको योगदान गरे ।
५ खेल खेलेको नेपाल सबै खेलमा अपराजित रहँदै आयो , पहिलो खेलमा स्पष्ट नतिजा ल्याएको तथा मलेसिया र बहराइनबीचको पहिलो खेल वर्षाको कारण रद्द भएपछि मलेसियाले बहराइनसँग एक-एक अङ्क बाँडेको थियो ।
यसअघिक चार खेलमा नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन, तेस्रो खेल ओमनलाई १०२ रन र चौथो खेल बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपाली महिला समाज कतारले हरितालिका तीज मनाउदै

 २० अगष्ट,दोहा- नेपाली महिला समाज कतारले यही २९ अगष्ट २०१४ शुक्रवारको दिन नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीज कतारको राजधानी दोहा नजिकै होलिडे भिल्लामा बिहानको ११:३० बजे देखि मनाउने भएको छ।
उक्त हरितालिका तीज कार्यक्रमलाई भरपूर्ण मनोरन्जन दिन नेपालबाट लोक गायिका विनु तामाङ्गलाई ल्याईने नेपाली महिला समाज कतारकी अध्यक्ष रेखा राईले तहल्कालाई बताउनु भयो।

प्रवासी नेपाली महिला समाज कतारले तेस्रो पटक आयोजना गर्न लागेको "रमाईलो तीज कार्यक्रम-२०७१" को संयोजक तथा समाजकी कोषध्यक्ष सुष्मिता भुसालले नेपालबाट आउनुहुने गायिका विनु तामाङ्ग लगायत स्थानिय महिला कलाकारहरु गायिका कविता तामाङ्ग र नृत्याङ्गनाहरु संगीता लामा, कमला लामा, पवित्रा लामा, सोनाम लामा, सल्मा लामा, विनिता खड्का, उर्मिला राई, प्रमिला बस्नेत, सावित्रा खतिवडा, दिपा बस्नेत, रमा आचार्य, लगायतले नृत्य प्रतिभा प्रस्तुत गर्नुहुने बताउनु भयो।

टिकटबारे:- 
होलीडे भिल्लामा प्रवासी नेपाली महिला समाज कतारले आयोजना गर्न लागेको "रमाईलो तीज कार्यक्रम-२०१४" मा महिलालाई निशुल्क रहेको र
 पुरुषहरुलाई भने नेपाली महिला समाजलाई सहयोग स्वरुप क.री. ७० रियल रहेको कुरा समाजकी अध्यक्ष राईले जानकारी गराउनु भयो।

कतारको कुनै पनि स्थानमा रहनु भएका नेपाली महिलाहरुलाई यस कार्यक्रमा भाग लिदिनहुन प्रावासी महिला समाज कतारले संयुक्तरुपमा आव्हान गरेको छ।

  


Tuesday, August 19, 2014

साम्प्रदायिक सरकारको खुनी हमला।

फेसबुकका ताजा आवाज
Sewa Lung

संसारमा नेपाल एउटा यस्तो देश हो, जहा हत्यारा, गुण्डा डाका, बलात्कारी हरु लाइ आश्रय दिइन्छ। राष्ट्र र राष्ट्रियता को बिरुद्दमा बोल्ने कनकमणि हरु लाइ अनि सुसिल हरु लाइ सम्मान गरिन्छ। भ्रष्टाचारी खुमे हरु लाइ सम्मान गरिन्छ। कठै बिचरा एउटा जनजाति लाक्पा तामाङ्ग जो आफ्नै मेहेनत ले पालेको गोरु काटेर खादा गोलीको सिकार हुनु पर्ने? आफ्नै मेहनत र परिश्रमले उत्पादन गरेको कुनै पनि कुरा उपयोग गर्न सरकार संग अनुमति लिनु पर्ने, वा सरकारी कानुनले बन्देज गरेको हुन्छ। के नेपालि जनता हरु लाइ समेटिएको कानुन यस्तै हुन्छ?

द्वन्दकालमा जंगली बुला हरुलाई खुवाउनको लागि जनताको कटेरो र खर्क हरु बाट रोजी रोजी मारिखान को लागि गाइ र गोरु लुट्ने आदेश दिने प्रचण्ड नामको हाप्सिला आज लाक्पा तामाङ्ग लाइ गोरु काटी खाएको निहुमा गोलि ठोकेर हत्या गर्दा किन मौन छ? तिनै गोर्खा जिल्ला बाट अत्यधिक मत ल्याएर बिजय भएका कम्युनिष्ट तथा साम्यवादी नेता बाबुराम भट्टराइ कुन दुलोमा लुकेको छ? यो लाक्पा तामाङ्ग हत्याको किन चासो छैन? के नेपालको जनजाति हरु साधन मात्र हो त? साम्यवादी दर्शनको खोल ओढेको एमाले अनि समाजबादी खोक्रो नारा लगाउने कांग्रेसी हरुले किन यी हत्यारा हरुका बिरुद्दमा सदनमा चुइक्क आवाज उठाउदैनन? के भोलि तिनै तामाङ्ग हरु राज्यको मुलधारमा पुगेर खसी काटेर खाने लाइ पनि त्येसरी नै गोलि हान्ने कानुन बनायो भने हामि हरु लाइ मान्य हुन्छ? यो हत्याले समाजमा कस्तो म्यासेज जादैछ? सरकार पक्षले शान्ति अमनचयन चाहान्छ कि गृहय युद्द? अन्तरिम संबिधान ६३ मा उल्लेख गरिएको नेपाल एक धर्म निरिपेक्ष मुलुक हो भनि उल्लेख गर्नुको अर्थ के रह्यो?

यो नेपाल र नेपालि जनता सुहाउदो कानुन नभई हिजो राजा महेन्द्रले बनाएको धार्मिक नियम मात्र हो। समानता र समाबेसी अनि समानुपातिक अधिकार को प्रयोग गरि सबै नेपालि हरुले स्वतन्त्र पुर्बक बाँच्न पाउनु पर्छ। राज्यको बागडोर कुनै एउटा समुदायमा छ भन्दैमा करोडौ नेपालि हरुको इच्छा, भाबना बिपरित कुनै पनि नीति नियम या कानुन खारेज हुनु पर्छ वा संसोधन हुनु पर्छ। लाक्पा तामाङ्ग ले गोरु काटेर खादा मर्नु पर्थ्यो भने माओबादि का नेता हरुले हजारौं गाइ र गोरुको हत्या गरि खाएका छन। कि कानुन लाक्पा हरु लाइ मात्र लाग्ने? प्रचन्ड हरु लाइ लाग्दैन कानुन? अति भो सरकार अति भयो।

झापामा ईबोला भाईरस रोक्न डेक्स स्थापना

झापा, भदौ ३– पूर्वी नेपालको मुख्य नाका काँकडभिट्टामा इबोला भाइरसको सङ्क्रमण रोक्न सरकारले क्वारेन्टाइन हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।

अध्यागमन कार्यालय परिसरमा स्थापना गरिएको इबोला हेल्प डेक्समा अहेव हरिश्चन्द्र देवकोटाको नेतृत्वमा स्वास्थ्यकर्मीको एक टोली खटिएको छ ।

टोलीले दक्षिण अफ्रिकी मुलुकबाट नेपाल आउने पर्यटकका बारेमा सोधखोज गर्ने र आवश्यक स्वास्थ्य परामर्श र सम्भाव्य सङ्क्रमित व्यक्तिको निगरानी गर्ने अहेव देवकोटाले जानकारी दिए ।

झापाको काँकडभिट्टा भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको र सिक्किम, आसाम, मेघालय, नागाल्यान्डलगायतका प्रान्तसँग नजिक रहेको नेपालको पूर्वी नाका हो ।

नेपाल इबोलाको उच्च जोखिममा रहेकाले रोग भित्रिन नदिन विज्ञहरुले जोड दिँदै आएका छन् । विज्ञहरुका अनुसार नेपालमा इबोला भित्रिए विकराल रुप लिने भन्दै बेलैमा सचेत रहनु पर्नेभन्दै सरकार गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् ।

बाढ़ी पीड़ितलाई चाऊ चाऊ बाढ़दैछ कोईराला सरकार

पाँच दिन देखि जंगलमा बास

बाँके,भदौ ३ - राप्ती  बाढीले घर भत्काएका यहाँका एक सय बढी बाढीपीडितहरू पाँच दिनदेखि जंगलमा रात काट्न बाध्य भएका छन्। भत्किएको घर र सडक हिलाम्मे भएर बस्न नमिलेपछि उनीहरू गाउँ नजिकैको जंगलको खाली जग्गामा रात काटिरहेका हुन।
दिनभरि भत्किएको घरको सामान खोज्ने र रात काट्न जंगलमा जानु परेको गोपाल चौधरीले बताए। 'घर भत्केपछि बस्ने ठाउँ भएन्। गाउँभरी हिलो छ। फोहरले राति किरा लागेर बस्न सक्ने अवस्था छैन,' बाढीबाट विस्थापित गोपाल चौधरीले भने,'जंगलमाम गएर हिलो नभएको ठाउँ खोजेर रात बिताउने गरेका छौं।'
स्थानीय प्रशासनको उपस्थिति हालसम्म हुन नसक्दा उनीहरूले राहतस्वरूप खाद्यान्न र बस्नका लागि त्रिपाल पनि पाएका छैनन्। उनीहरू जंगलमा प्लास्टिक राखेर भुइँमा सुत्नुपरेको बाध्यता सुनाउँछन्। राप्ती नदीमा एक्कासि आएको बाढीले घर भत्काएपछि त्यसभित्र रहेका लत्ताकपडा, भाँडा, दराज, सुत्ने खाटलगायतका सम्पूर्ण समान पुरिएका छन्। सुत्ने खाटसमेत भत्किएको घरमा पुरिएपछि उनीहरू भुइँमा सुत्न बाध्य भएका हुन। गाउँको पूर्वउत्तरतर्फ रहेको वनमा लहरै बसेर रात बिताउने गरेका छन्।
'भएको खाट, बिस्तारा सबै घरमा पुरियो। भुइँमा सुत्नुपर्ने बाध्यता आइलाग्यो। निद्रा लाग्दैन। प्लास्टिक ओढेर रात बिताउने गरेका छौँ,' यसरी कति दिनसम्म रात बिताउन सकिएला। प्रशासनका कुनै अधिकारीहरू हाम्रो अवस्थाबारे बुझ्न आएनन्।गुनासो गर्छन।
फत्तेपुरका तीन विस्थापित परिवार वन कार्यालयको खाली रहेको एउटा कोठामा बसेका छन्। त्यस्तै केही परिवार राप्तीपीडित गुलरी सामुदायिक वन उपभोक्ता समितिको भवनमा बसेका छन्। तर, सबै विस्थापित त्यहाँ बस्न मिल्ने स्थान नभएकाले उनीहरूले जंगल रोजेको बताए। स्थानीयले विस्थापितहरूलाई बेवास्ता गरे जंगल फँडानी गरेर बस्ने चेतावनी दिएका छन्।

मधेसी इन्जिनियर किर्तेमा पक्राउ

रौतहट, भदौ २–सरकारी दस्तखत र छाप किर्ते गरेको आरोपमा रौतहटमा एक मधेशी सब ईन्जिनियर पक्राउ परेका छन ।एक बर्ष अघि रौतहटको बन्जरा गाबिसका मधेशी रामु सहनी, अजय कुमार सहनी, मनोज सहनी लाई नागरिकताको प्रमाण पत्रको लागि भरिने अनुसुचि फारममा गाबिस मधेशी सचिब नन्द किसोर साहको दस्तखत किर्ते तथा छाप दुरुपयोग गरेको आरोपमा मधेशी सबईन्जिनियर संजय सिह पक्राउ परेका हुन । उनलाई मुलुकी ऐनको किर्ते महल बमोजिम सरकारी छाप किर्ते गरेबापत फौजदारी मुध्दा दर्ता गरिएको प्रहरी नायब उपरिक्षक भिम ढकालले बताए । ।

स्थानीयवासिले लाक्पाको शोकमा गाई काटेर खाए।

हिरालाल विश्वकर्मा

सपाँचथर,भदौ ३- आज विहान पाँचथरको हेवा खोलाको बगरमा स्थानिय आदिवासीले सामुहिक रुपमा पाँच वटा गाई काटेर खाएका छन ।
लाक्पा तामाङको मृत्यूले हामीलाई शोक मनाउन दिएन र गाई काटेका हौ। आक्रोसित भिडले गाईकाटेको बिरोध गर्दै जो सुकै आए पनि प्रतिकारगर्ने जनाएका थिए । उनीहरूले भने " दाई मारेर गाई बचाउने यो कति औ शताब्दिको देश हो ? यो देश हाम्रो पनि हो , हाम्रो सांस्कृतिक अधिकारको लागी हजारौ लाक्पा तामाङ जस्तै गोली खाएर मर्न तयार छौ।"

 लोकतान्त्रिक,गणतन्त्र,धर्मनिरपेक्षता नेपालमा अन्या सहदै कोहि नबस्ने भन्दै गाई काटने अभियान शुरु भएको जानकारी गराएका थिए। लहरै पाँच वटा गाई राखेर काटिएको स्थानिय सञ्जिव राईले बताएका छन ।

उपचारको क्रममा हिजो मृत्यु भएका
 गोर्खाका लाक्पा तामाङलाई गत साता गाईको मासु खाएको भन्दै नेपाल प्रहरीले गोली हानेको थियो।
नेपाल आदिवासी जनजाती महासंघ , नेपाल तामाङ घेदुङ् संघ र बिभिन्न राजनितिक दलहरुले आपत्ति जनाउदै तल ४ बुधे माग़ राखेका छन।

(१)गोली हान्ने आदेश दिन प्रशासन र गाली हान्ने प्रहरीलाई तत्काल निलम्बन गरि करवाही गर्नु पर्ने।

 (२) मृतकका आफन्तलाई उचित छतिपूर्ति दिनु पर्ने।

 (३) मृतकको शवलाई हेलिकप्टरद्वारा गाउँमा पु–याउनु पर्ने ।

(४) धर्मनिरपेक्ष राज्यसंग बाझिएको गौ हत्या सम्बन्धि सम्पूर्ण ऐन कानुन खारेज गर्नु पर्ने।

उनीहरूले यी माथीका मागहरु सम्बोधन नभएसम्म मृतकको शव नबुझन् र पोष्टमार्टम पनि गर्न नदिने भनी चेतावनी दिएका छन।

३५ लाख नेपाली नागारिकले बाहिरबाटनै भोट लगाउन पाउनुपर्छ-लिङ्देन|

●म आन्दोलनमा मरेको खबर सुन्नुहुनेछ तर मन्त्रि या केहि पदमा बिकेको खबर सुन्नुहुने छैन।-लिङ्देंन
●तिहार पछि निर्णायक आन्दोलन हुने

बी बी लामा तामाङ

तेलअविव ,इजरायल - नेपाल आदिवासी जनजाति महांसघ,इजरायलको आयोजनमा २० औ विश्व आदिवासी दिवस मनाउन तेलअविव,इजरायलमा १५ अगस्ट २०१४ शुक्रबार भएको कार्यक्रमलाई सम्बोधन गर्न बिशिष्ट अथितिको रुपमा पुगेका नेपालका संघियवादी नेता तथा संघीय लिम्बुवान पार्टी,नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देनले चाडै पहिचानवादी दलहरु एक भएर तिहार पछाड़ी निर्णायक आन्दोलन शुरूहुने बताएका छन। उनले यस आन्दोलनको नेतृत्व पद्म रत्न तुलाधरले गर्ने पनि खुलासा गरे।कार्यक्रममा निक्कै उत्साहित र भावुक बनेका लिङ्देनले अबको आन्दोलन कुनै मन्त्री र १०/२० करोडमा बिक्न नहुने भन्दै आफु(लिङ्देन) आन्दोलनमा मरेको खबर सुन्नु हुनेछ तर लिम्बुवान आन्दोलन कुनै मन्त्री पदमा बिकेको नसुन्नुहुने जीकर गरे। लिङ्देनले ३५ लाख बिदेशिएका नेपाली नागरिकले समानुपातिकमा भोट हाल्नु पाउनु पर्ने भन्दै ईजराईलमा रहेका दीदी बहिनिले पठाएको रेमिण्टेड खान सक्ने सरकारले भोट लगाउन पाउने व्यवस्था गर्न नसक्नु नेपाली नागरिकलाई आप्रवासी बनाउन खोजिएको आरोप लगाए। पहिचान सहितको संघियताका साथ आ-आफ्नो धर्म,भाषा,लिपी,संस्कृतिको संरक्षण र हक अधिकार प्राप्तिको लागि निरन्तर लागि रहने भन्दै पहिचान सहितको संघियाताको लागी पूर्वमा'संघीय लिम्बुवान पार्टी' गठन भए जस्तै सबै क्षेत्रका पहिचानवादी शक्तिहरू एक हुन आग्रह गरे।यसरिनै कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महामहिम प्रल्हाद कुमार प्रसाईले २० औ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु हुँदै संसार भरी मनाउने विश्व आदिवासी दिवस इजरायलमा बिगत  ३ बर्ष देखि नेपाल आदिवासी जनजाति महासंघले लगातार मनाउदै आईरहेकोमा आदिवासी जनजाति समुदायको हक अधिकार र सचेतनाबारे कार्यक्रम स्वागत योग्य रहेको बताएका थिए।नेपाल आदिवासी जनजाती महासंघ उपाध्यक्ष दिपा लिबाङ लिम्बुले स्वागत मन्तव्य र भूपेन्द्र गुरुङले कार्यक्रमको उदेश्यबारे बोलेका थिए।

नेपाल आदिवासी जनजाति महांसघ,इजरायलका उपाध्यक्ष भुपेन्द्र गुरुङको संयोजकत्वमा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुन्दर सिंह लामा तामाङ , प्रमुख अतिथि नेपाली राजदुतावास,इजरायलका महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई , विशिष्ट अतिथ्यामा नेपालबाट आमन्त्रित संघीय लिम्बुवान पार्टी,नेपालका अध्यक्ष कुमार लिङदेन 'मिराक' ,बिशेष अतिथिहरुमा नेपाली राजदुतावास,इजरायलका काउन्सिलर तथा उपनियोग प्रमुख खड्क प्रसाद दाहाल,संघीय समाज इजरायलका अध्यक्ष छिरिङ शेर्पा,एनआरएन,इजरायलका प्रतिनिधि महासचिव तिर्थ गौतम रहेका थिए।

कार्यक्रमका सभापति सुन्दर सिंह लामा तामाङ , प्रमुख अतिथि महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई , विशिष्ट अतिथि कुमार लिङदेन लिम्बु 'मिराक' र सबै अतिथीहरूले सयुक्त रुपमा दिप प्रज्जवलन तथा ज्ञातअज्ञात सहिद्हरू र प्राकृतिक बिपत्तिमा परी ज्यान गुमाएका मृतकहरु प्रति श्रदानञ्ली व्याक्त गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो।भने कार्यक्रम संचालन महासंघका महासचिब डोमा शेर्पा र नयन ईम्सोङ्ग लिम्बुले गरेका थिए।

Monday, August 18, 2014

प्रचण्ड गर्जिए पछि बल्ल तयार भयो सरकार बाढि पीढितलाई राहत वितरण गर्न।


काठमाडौ- प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष प्रचण्डले संसदमा सरकारी मुकदर्शक रबैयाको चर्को विरोध गरेपछि सरकारले २४ जिल्लालाई विपतग्रस्त जिल्ला घोषणा गरेको छ । सोमबार संसदमा बोल्दै एमाओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले राष्ट्रिय विपत घोषणा गरेर पिडीतहरुको उद्दार र उपचारमा ध्यान केन्द्रीत नगरे सम्म संसदीय कारवाही अघि बढ्न नसक्ने चेतावनी दिएपछि सरकार २४ जिल्लामा राष्ट्रिय विपत घोषणा गर्न तयार भएको हो ।
एमाओवादीको माग अनुसार प्राकृतिक विपतसंग जुँध्न प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय बिपत ब्यबस्थापन संयन्त्र बनाउने सहमति समेत भएको छ ।


सभाषद आफ्नो जिल्लामा गएर विपत ब्यवस्थापनमा लाग्न पाउनु पर्ने भन्दै एमाओवादीले संसद स्थगित गर्न माग गरेको थियो । सोही अनुरुप १ साता सम्मका लागि संसद स्थगित भएको जानकारी सभामुख सुभाव नेम्बाङले जानकारी दिएका छन् ।
सोमबार संसदमा बोल्दै प्रचण्डले देशभरी प्राकृतिक बिपत्ती आई पर्दा समेत सरकार तमासे भएको विपतको अवस्था सृजना हुँदा सरकार सुस्त मनस्थिति जस्तै सुतेर बसेको भन्दै चर्को आलोचना गरेका थिए ।

प्रचण्डले हिजै मात्र सुनकोसी पहिरो ग्रस्त क्षेत्रको स्थलगत अध्ययन गरी आर्थीक सहयोग घोषणा गरेका थिए । प्रमुख नेताहरु मध्ये सुनकोसी पहिरोको स्थलगत अबलोकन गर्ने प्रचण्ड पहिलो नेता हुन् ।

पहिरो पीड़ित जनतालाई राहात दिन र उद्दार गर्न सरकार निरही-प्रचण्ड

काठमाडौं, भाद्र २ - बाढी पहिरोले देशका अधिकांश क्षेत्रमा जनधनको क्षति भएको भन्दै एमाओवादीसहित विपक्षी दलहरुले राष्ट्रिय विपत घोषणा गर्न माग गरेका छन् ।

संसदको सोमबारको बैठकमा विपक्षी दलहरुले राष्ट्रिय विपत घोषणा गर्न माग गर्दै सदन अवरोध गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय विपत घोषणा गर्न माग गरेका थिए । लगत्तै एमाओवादीसहित विपक्षी दलहरुले उठेर बैठक अवरोध गरे ।

दाहालले बाढी पहिरो पीडित जनताको राहत र उद्दारमा सरकार निरीह भएको आरोप लगाए । उनले तत्काल पीडितका लागि तत्कालिन, अल्पकालिन र दीर्घकालीन राहतको माग गरे ।

दाहालले सुशील कोइराला नेतृत्वको सरकार 'सुस्त मनस्थितिको' भएको बताए ।

Sunday, August 17, 2014

गोरु काटेर खाएको निउमा गोली चलाइयो।

राजेन्द्र न्यौपाने
गोरखा, साउन २९ - गोरखा, साउन २९ तामाङ समुदायका मानिसले आफ्नो संस्कृति अनुसार गोरु काटेर काटेर खाएका आरोपमा सिमजुङको सिरानडाँडामा आज गोली चलेको छ । गोली लागि स्थानीय ७० वर्षिय लाक्पा तामाङ घाईते भएका छन् । घाईतेलाई उपचारका लागि गोरखा अस्पताल ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताए ।
गाउँमा गोरु काटेर खाएको भन्दै चौकीमा उजूरी परेपछि गोरु काटेकै स्थानमा विहान ११ बजे प्रहरी पुगेको थियो । स्थानीयले गाउँमा नै कुरा मिलाऔं भन्दा प्रहरीले चौकी जाउँ भनेपनि धकेलाधकेल भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । यसैवीचमा प्रहरी गोली चलाएको तामाङको अनारीमा गोली लागेको उनले बताए । तीन राउण्ड माथि र एक राउण्ड तल फायर गर्दा उनी गम्भीर घाईते भएका हुन् । घाइतेको भच्चेक स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो ।
घटनाबारे थप जानकारी लिन र स्थितिलाई नियन्त्रणमा लिन सौरपानी र जौवारीबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । तामाङ समुदायको संस्कृतिमा गाई, गोरुको मासु अनिवार्य छ । धर्म निरपेक्ष राज्यमा सबैले आफ्नो धर्म अनुसारका कर्म गर्न पाउँछन् , तर गोरखामा भने कानुनी राज्यको उपहास भएको संघीय समाजवादी पार्टी गोरखाका अध्यक्ष सुकदेव तामाङले बताए ।
प्रहरीले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । प्रहरी नायव उपरिक्षक रमेश थापा सहितको टोली घटनास्थल तर्फ लागेको छ । नेपालको संविधानमा धर्म निरपेक्ष राज्य उल्लेख भएपनि कानुन भने पुरानै रहेका कारण गाई गोरु काटन् नपाईने अवस्था रहेको मानवअधिकारकर्मी एवं अधिवक्ता स्थानेश्वर दवाडी बताउँछन्