पाँच दिन देखि जंगलमा बास
बाँके,भदौ ३ - राप्ती बाढीले घर भत्काएका यहाँका एक सय बढी बाढीपीडितहरू पाँच दिनदेखि जंगलमा रात काट्न बाध्य भएका छन्। भत्किएको घर र सडक हिलाम्मे भएर बस्न नमिलेपछि उनीहरू गाउँ नजिकैको जंगलको खाली जग्गामा रात काटिरहेका हुन।
दिनभरि भत्किएको घरको सामान खोज्ने र रात काट्न जंगलमा जानु परेको गोपाल चौधरीले बताए। 'घर भत्केपछि बस्ने ठाउँ भएन्। गाउँभरी हिलो छ। फोहरले राति किरा लागेर बस्न सक्ने अवस्था छैन,' बाढीबाट विस्थापित गोपाल चौधरीले भने,'जंगलमाम गएर हिलो नभएको ठाउँ खोजेर रात बिताउने गरेका छौं।'
स्थानीय प्रशासनको उपस्थिति हालसम्म हुन नसक्दा उनीहरूले राहतस्वरूप खाद्यान्न र बस्नका लागि त्रिपाल पनि पाएका छैनन्। उनीहरू जंगलमा प्लास्टिक राखेर भुइँमा सुत्नुपरेको बाध्यता सुनाउँछन्। राप्ती नदीमा एक्कासि आएको बाढीले घर भत्काएपछि त्यसभित्र रहेका लत्ताकपडा, भाँडा, दराज, सुत्ने खाटलगायतका सम्पूर्ण समान पुरिएका छन्। सुत्ने खाटसमेत भत्किएको घरमा पुरिएपछि उनीहरू भुइँमा सुत्न बाध्य भएका हुन। गाउँको पूर्वउत्तरतर्फ रहेको वनमा लहरै बसेर रात बिताउने गरेका छन्।
'भएको खाट, बिस्तारा सबै घरमा पुरियो। भुइँमा सुत्नुपर्ने बाध्यता आइलाग्यो। निद्रा लाग्दैन। प्लास्टिक ओढेर रात बिताउने गरेका छौँ,' यसरी कति दिनसम्म रात बिताउन सकिएला। प्रशासनका कुनै अधिकारीहरू हाम्रो अवस्थाबारे बुझ्न आएनन्।गुनासो गर्छन।
फत्तेपुरका तीन विस्थापित परिवार वन कार्यालयको खाली रहेको एउटा कोठामा बसेका छन्। त्यस्तै केही परिवार राप्तीपीडित गुलरी सामुदायिक वन उपभोक्ता समितिको भवनमा बसेका छन्। तर, सबै विस्थापित त्यहाँ बस्न मिल्ने स्थान नभएकाले उनीहरूले जंगल रोजेको बताए। स्थानीयले विस्थापितहरूलाई बेवास्ता गरे जंगल फँडानी गरेर बस्ने चेतावनी दिएका छन्।

No comments:
Post a Comment