Saturday, August 24, 2013

गोलमेचले पनि निकास निस्कनेमा उच्चस्तरीय राजनीतिक समिति सशंकित

काठमाडौं, भाद्र ७ - नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले राख्दै आएको गोलमेच सम्मेलनबाट पनि निकास निस्केनमा उच्चस्तरीय राजनीतिक समिति सशंकित देखिएको छ । गोलमेच सम्मेलनका विषयमा छलफल गर्न शुक्रबार साँझ नयाँ बानेश्वरस्थित समिति सचिवालयमा बसेको समितिको बैठकले शंका व्यक्त गरेको हो । 'उहाँहरु रिजिड (कठोर)रुपमा आउनुभएको छ,' बैठकपछि एमाले नेता रघुजी पन्तले भने, 'हेरौं वार्तापछि के हुन्छ ।' बैठकमा निर्वाचनको मिति सार्ने र सरकार परिवर्तन गर्ने मौलिक कुराबाहेक अरु विषयमा असन्तुष्ट पक्षहरुसँग छलफल गर्न सकिने बारेमा छलफल भएको कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए । 'सरकारको परिवर्तन र निर्वाचनको मिति परिवर्तन हुन सक्दैन,' उनले भने, 'यी दुईवटा बाहेक छोटो अवधिका लागि हुने गोलमेच सम्मेलनमा अरु के केमा सहमति गर्न सकिन्छ भन्नेमा छलफल भयो ।' वर्तमान सरकार विघटन गरेर नयाँ कुरा खोज्दा अराजकता र अन्योल खडा गर्ने काम हुने र मिति सार्दा निर्वाचन अनिश्चित हुने भएकाले सो विषयमा अडान लिनेबारेमा बैठकमा छलफल भएको थियो । मोर्चाले गोलमेच सम्मेलनमा पनि वर्तमान सरकारको खारेजी र मंसिर ४ गते घोषित चुनाव सार्नुपर्ने अडान राख्दै आएको छ । जुन अडान मान्न प्रमुख दलहरु कुनै हालतमा तयार छैनन् । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले शुक्रबार नै सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको खारेजी र घोषित चुनाव स्थगनको माग गोलमेच सम्मेलनमा पनि उठाउने प्रस्ट पारिसकेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले असन्तुष्ट समूहले राख्दै आएका मागका विषयमा शनिबार छलफल हुने जानकारी दिए । उनका अनुसार बिहान ११ बजे नेकपा-माओवादी नेतृत्वको मोर्चा र त्यसपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग छलफल हुँदैछ । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको मागअनुसार समितिले गोलमेच सम्मेलन बोलाउन सैद्धान्तिक सहमति जनाएको थियो । तर गोलमेच सम्मेलनको प्रारुप, मिति भने टुंगो भएको छैन ।
<श्रोत : कास>

No comments:

Post a Comment