रवि रोषी, दोहा कतार ।
प्रवासी नेपाली राष्ट्रवादी समाज कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष रविचन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यता रहेको थियो भने गैर आवासीय नेपाली संघ कतार च्याप्टरका अध्यक्ष अमृत गुरुङ, एन आर एन आईसीसीका सचिव टि.बि. कार्की, व्यवशायी डा. देवकाजी डंगोल, नेपाली समाजका अगूवा सागर नेपाल, नेपाली जनसम्पर्क समितीका सभापति विमल सुवेदी, नेपाली जनप्रगतीशील मञ्चका सल्लाहकार शनि ओली, नेपाली जनप्रगतीशील मोर्चाका अध्यक्ष श्री कृष्ण भट्टराई, नेपाल महिला सेवा समाजकी अध्यक्ष रेखा राई, नेपाल जनजाति महासंघका महासचिव देवराज राई लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मन्तव्यको क्रममा नेपालकै जस्तै कार्यक्रममा भाषण गर्दा एकले अर्कोलाई सत्तोसराप गर्ने र आफ्नो भाषण सकिएपछि मञ्च छोडेर जाने नेपालको रोग कतारमा पनि रहेछ भन्दै व्यंग्य प्रहार गर्दै कुनै पनि संघसंस्था तथा दलहरुको मूलभूत मान्यता माथि आक्रमण गर्ने शैली यहाँ पनि बिद्यमान रहेको पाउँदा खिन्नता महसुस भएको बताउनुभयो । आफुलाई क्रान्तिकारी भन्ने दलहरुमा हावी ह्यांगओभरको धंगधंगीले ग्रस्त कुराहरुलाई पनि आफुले प्रशंशा गर्दै आएको बताउँदै त्यस्ता व्यक्ति, नेताहरुको भावना, निराशाले व्याप्त आक्रोशको निदान आफुले खोजेको बताउनुभयो ।
नदिको प्रवाह संग बगेर जान त सजिलो छ, तर नदिको प्रवाहलाई मोडेर अन्त जान जोखिम मोल्नु पर्ने बताउँदै त्यहि जोखिम मोल्दै असफल सावित भएका नेताहरुको भीडमा कांग्रेस, एमाले, राप्रपा, माओवादी भएर होइन एक राष्ट्रभक्त नेपाली भएर यसको निदानको लागि सकारात्मक सन्देश छर्न सबैलाई आव्हान गर्नुभयो । आन्दोलनबाट आफैँले निर्माण गरेको संविधान मुताविक पहिलो जनआन्दोलने स्थापित गरेको शान्ति प्रकृयालाई दोश्रो जनआन्दोलनले विस्थापित गरेको भन्दै अहिले प्रजातन्त्र उग्रवामपन्थी धरापमा परेको आरोप लगाउँदै प्रजातन्त्र भनेको के नेताले भाषण गर्ने र जनताले थप्पडी बजाउनुलाई नै प्रजातन्त्र भन्छ ? भनी विभिन्न बैचारिक संस्थाका प्रतिनिधीहरुलाई प्रतिप्रश्न गर्नुभयो ।
देश विगत १० बर्ष देखि भ्रष्ट र पदलोलुप व्यक्तिको कब्जामा परेको भन्दै नेताको अकर्मण्यता र गलत नीतिको कारण शक्ति पृथकीकरणको कारण राज्यको मेरुदण्ड नै भाँचिएको अवस्था हो भनी भन्नुभयो । शान्ति र संविधानको नाममा १सय अर्ब राज्यको ढुकुटी खर्च गर्नेहरु संग नागरिकहरुले के आशा राख्ने भन्दै राजतन्त्र देशबाट सधैँको लागि समाप्त भयो भन्ने हौवा फैलाउनेहरुले संविधान सभा बनेपछि मात्र गणतन्त्रले स्थायित्व पाउने कि नपाउने ? राजतन्त्र रहने कि नरहने भन्ने संविधान सभाले मात्र निर्धारण गर्न सक्छ भन्ने कुरालार्ई बिर्सेर संविधान बनाउन असफल रहेमा गणतन्त्र नै धरापमा पर्ने शाश्वत सत्यलाई के साँच्चै नै बिर्सिएकै हो त भनेर भन्नुभयो । सुगौली सन्धि ताकाको नेपाल पछि अहिलेको गणतन्त्रकालिन नेपालको अस्तित्व जोखिमपुर्ण संकटमा रहेको बताउनुभयो । चुनाव जित्नको लागि नेताहरु गाउँ गाउँ जानुपर्नेमा उत्तर दक्षिणका छिमेकी देशहरुमा जाने गरेको सन्दर्भलाई नियाल्दा के उनीहरुले चुनाव जित्न पार्टीले विदेशबाट प्राप्त गर्ने आर्थिक सहयोग संगै विदेशीको दवाव र हस्तक्षेप पनि जोडिएर आउँछ भन्ने कुरालाई बिर्सिएकै हो त भनी भन्नुभयो । यसो गर्नु भनेको राष्ट्रिय भावना निमिट्यान्न भएको, इमान्दारिता र दुरगामी सोच रत्तिभर नभएको देशको मुहार फेर्न नचाहनेहरुको दरिद्र मानसिकता हो भनी बताउनुभयो ।
यी यावत कुराको विकल्प खोज्ने काम नेपालमा राप्रपाले मात्र गरेको र यसकै स्थापनाको लागि प्रजातान्त्रिक बैकल्पिक मार्गचित्रको दौडाहामा लागि परेको बताउनुभयो । यस्तो बैकल्पिक मार्गचित्रको माध्यमबाट देश विकास गर्न र नागरिकहरुको हक अधिकारको सुनिश्चितता गराउन तथा समयकाल सुहाउँदो प्रजातान्त्रिक राजतन्त्र जो गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राज्यप्रणाली स्थापना गर्न आफ्नो पार्टी लागि परेको बताउनुभयो ।
कार्यक्रममा एनआरएन कतारका अध्यक्ष अमृत गुरुङ, एनआरएन आईसीसी सचिव टिबी कार्की, व्यवशायी डा. देवकाजी डंगोल लगायत आमन्त्रित अन्य संस्थाका प्रतिनिधीहरुले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो ।
(श्रोत : नेपाल कतार न्युज)
No comments:
Post a Comment