Thursday, May 1, 2014

संबिधान जारि भए जलाई दिन्छौ!


‘संविधान जारी भए जलाउँछौं’
वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा समेत रहेको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद(संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)का महासचिव खगेन्द्र माखिम संविधानसभाबाट संविधान जारी भए पनि पहिचानवादीहरूले त्यसलाई नमान्ने बताउँछन् ।
आदिवासी जनजाति दलहरुबीचको एकीकरण प्रयास दुईलाइनबाट भइरहेको छ । एकातर्फ, संघीय समाजवादी पार्टीलाई केन्द्रमा राखेर एकता प्रयास भइरहेको छ । तर, त्यो टीमले हामीसँग औपचारिक छलफल गरेको छैन ।
अर्कोतर्फ, पहिचान पक्षधरबीच पहिचानमा आधारित संघीय गठबन्धनको प्रयास भइरहेको छ । त्यसका लागि हामीले नै बढी पहल गरिरहेका छौं । गठबन्धनको प्रतिवद्धतापत्र, कार्यविधि, आचारसंहिता पारित भइसकेको छ । अब घोषणा गर्न बाँकी छ । संघीय गठबन्धनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, थरुहट तराइ पार्टी, नेपाः राष्ट्रिय पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी छन् ।
गठबन्धन बनाउनुको कारण बिस्तारै पहिचानवादी पार्टी एक हुनुपर्छ भन्ने नै हो । तर सबै जनजाति पार्टी एकता सम्भव देखिदैन । फरक फरक विचार बोकेका पार्टीको समान विचार निर्माण भएपछि बल्ल एकता हुन संभव हुन्छ । पार्टी नै बनाउन चाहिँ सैद्धान्तिक अवरोध पनि छन् । सबैको विचार मिलाउन गा¥हो हुन्छ ।
जस्तो संघीय समाजवादी पार्टीसँग एकताको कुरा संभव देखिदैन । जसरी नेकपा एमालेलाई अरु कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट नै हो कि होइन भन्ने प्रश्न छ । त्यस्तै, संघीय समाजवादी पनि पहिचानवादी दल हो कि होइन भन्ने दुविधा छ । उसले त्यसलाई प्रष्ट पार्न सकेको छैन । त्यो उसले व्यवहारिक रुपमै प्रष्ट पार्न सक्नुपर्छ । त्यसैले उसलाई यो गठबन्धनमा ल्याएका छैंनौं । उहाँहरु एमाओवादीसँग नजिक देखिनुहुन्छ ।
खासमा पहिचानको पक्षमा लड्नु र राजनीतिक दलको रुपमा लड्नु फरक कुरा हो । उहाँहरुलाई पार्टीलाई बृहत्त बनाउने किसिमले लागिराख्नु भएको छ भने हामी चाँही पहिचान स्थापित गरौं, राज्य स्थापना गरौं भनेर लागिरहेका छौं । उहाँहरुले प्रष्ट रुपमा पहिचानको मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ । तर, अहिले उहाँहरुमा त्यो देखिन्दैन ।
हामीलाई अहिले ठूलो पार्टी चाहिएकै होइन । राज्य प्राप्तिको आन्दोलन ठूलो पार्टी बनेर मात्र गरिने होइन । पहिचानको मुद्दा आइडोलोजीभन्दा फरक हो । पृथ्विनारायण शाहले गोर्खा राज्यको विस्तार गरे । यहाँको विविधताको कुरा थाहा पाएर पनि राज्य बिस्तार गरे । तर, उनले एक भाषा, एक संस्कृति सबैमा लादे । गोर्खा दरबारका लागि करोडौं राज्यकोषको रकम लगानी गरेका उनले लिम्बुवान, खम्बुवान, मगरातका दरबार संरक्षण भने गरेनन् । त्यसैले, गल्ति त्यहिनेर भएको छ । त्यो यात्रा गलत दिशातर्फ हिडिएको यात्रा थियो । त्यसैले अब त्यहीबाट सुधार हुँदै जानुपर्छ ।
संघीयता संरचना मात्र हो । कम्युनिष्टहरुले भने जस्तो भूमि जोत्ने र जाति महिला तथा पुरुष मात्र हुन्छ भन्नु गलत छ । हामीले भन्दै आएको के हो भने भूमि जोत्नेलाई दिने होइन, बरु गुमेको भूमि पो फिर्ता गराउनुपर्ने हो त । पहिचानको मुद्दाले भूमिसहितको राज्य खोज्दछ । एमालेले धेरैपटक पाल्पामा चुनाव जित्यो, तर उसले कहिल्यै पनि मगरातको कुरा गरेन । मगरको कुरा गरेन । विचारको राजनीतिले गाविस, जिविस, क्षेत्र जित्ने कुरालाई प्राथमिकतामा राख्छ । तर, पहिचानको मुद्दाले भूमिलाई केन्द्रमा राख्छ ।
त्यो भूमिलाई कसबाट चलाइएको छ । हामीले भनेको के हो भने अब सिंहदरबारले परिभाषित गरेको कुरा अब स्वीकार्य छैन । बरु त्यसको विकल्प पो चाहिएको हो । शासकहरु परिवर्तन चाहँदैनन् ।
हामीले भनेको अधिकारप्राप्ति कानुनी र संवैधानिक बाटोबाट संभव छैन । आन्दोलनबाट मात्र त्यो संघव छ । अहिलेकै संवैधानिक बाटोबाट पहिचानको मुद्दा स्थापित हुन सक्दैन । जसरी राणा शासन, पञ्चायती व्यवस्था, राजाको शासन ढाल्न वैधानिक बाटो बाहिरबाट अबलम्बन गरियो, त्यस्तै गरी आन्दोलन अघि बढाउनुपर्छ । यदि अहिलेकै संविधानसभाबाट आएको संविधान पहिचानको पक्षमा हुन्न ।
खासमा पहिचानवादी शक्तिलाई अघि बढ्न नदिनकै लागि षडयन्त्रहरु गरिए । पहिचानको मुद्दालाई सिध्याउनकै लागि पहिचान बिरोधीहरुले विभिन्न षडयन्त्र गरेका छन् । खासगरी संविधानसभा निर्वाचन मंसीरमा गर्ने, त्यसपछि स्थानीय निर्वाचन गर्ने र त्यसले पनि पहिचानको मुद्दा सकिएन भने जनमत संग्रह गरेर पनि अघि बढ्ने भन्ने उनिहरुले षडयन्त्र गरेका छन् ।
त्यसैले पहिचान पक्षधरले यो संविधानसभाबाट समस्या समाधान हुन्छ भन्ने विश्वास गरेका छैनन् । यदि सर्वपक्षीय गोलमेच सम्मेलन गरेर अघि बढ्ने सहमति भए संविधानसभालाई संविधान पास गर्ने अधिकार भने दिन सकिन्छ ।

मंसिरको चुनावमा पहिचान पक्षधर शक्ति कमजोर भए भन्नु गलत हो । पूर्वमा हामी नै सशक्त शक्ति हौं । तर हामीले नै चुनावमा भाग नलिएपछि आएको परिणामबाट कसरी पहिचान पक्षधरको शक्ति थाहा हुन्छ र ? हामीलाई त बिरोधी बनाएर उनीहरु अघि बढेका छन् । त्यसैले हामीले सिंगो पहिचानवादीलाई एक ठाउँमा ल्याएर अघि बढ्ने प्रयास गरिरहेका छौं । हामीले लिम्बुवानभित्रका पार्टी तथा समूहबीच पनि मोर्चाबन्दीको पहल गरिरहेका छौं । हाम्रो आन्दोलन हिंसात्मक किसिमको हुन्न । यदि एकात्मकवादीहरुले संविधान घोषणा गरे भने हामी त्यसको विपक्षमा उभिने छौं । जे गर्दा संविधान उल्लंघन हुन्छ त्यही गर्छौं ।