बारा/वीरगन्ज, आश्विन १८ -
संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गरेको २४ घन्टा नबित्दै अज्ञात समूहले एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलममाथि गोली प्रहार गरेको छ । उनी गम्भीर घाइते छन् ।...
बाराको परवानीपुरस्थित चवासती खाद्य उद्योगअगाडि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनामध्ये एकले शुक्रबार बिहान करिब साढे ११ बजे गोली हानेका हुन् । टाउकामा गोली लागेका आलमको वीरगन्जमा प्रारम्भिक उपचारपछि राजधानीस्थित त्रिवि शिक्षण अस्पतालमा थप उपचार भइरहेको छ । आलम एमालेका केन्द्रीय सदस्य तथा मुस्लिम इत्तिहाद संगठनका केन्द्रीय अध्यक्ष हुन् ।
वीरगन्ज-पथलैया सडकछेउमा रहेको 'पीसीओ' सामुन्ने फोनमा कुरा गरिरहेका बेला मोटरसाइकलबाट उत्रेर एक जनाले नेताजी भन्दै टाउकामा गोली हानेको प्रत्यक्षदर्शीले बताए । वरिपरि रहेका कामदारले घेराउ गर्न खोज्दा हतियारधारीले हवाई फायर गरेका थिए । 'आत्तिएर मोटरसाइकल भगाउन खोज्दा एकपल्ट पल्टिए,' एक प्रत्यक्षदर्शीले भने, 'बन्दुक तेस्र्याएपछि हामी डरायौं । हतियारधारी दक्षिणतर्फ भागेका थिए ।' झन्डै एक महिनाअघि भारतीय अपराधी अब्दुल करिम टुन्डा र यासिन भट्टकल नेपालबाट पक्राउ पर्दा भारतीय सञ्चारमाध्यमले उनीहरूको आलमसँग सम्बन्ध रहेको समाचार प्रकाशन गरेका थिए ।
आलमसँगै रहेका उनका छोरा जम्सार अख्तरले बुवा फोनमा कुरा गरिरहेका बेला अचानक ट्रकको टायर पड्केको जस्तो ठूलो आवाज सुनेको बताए । 'एक छिनमा बुवा सडकमा ढलेको देखें,' उनले भने, 'नेताजी भन्ने व्यक्तिले गोली हानेछ ।' टाटा सुमोमा बिहान कार्यकर्तासहित चुनाव प्रचारमा हिँडेका आलममाथि उद्योगबाट पैदल निस्किरहेका बेला गोली हानिएको थियोे ।
'कार्यकर्तालाई भेट्न नेताजी उद्योगमा छिरेका थिए,' आलम निकट कार्यकर्ता जगदीश रामले भने, 'हामी नजिकको चिया पसलमा बस्यौं,' उद्योगबाट निस्कँदा उनी फोनमा कुरा गर्दै पैदलबाहिर आएका थिए । पहिलेदेखि मोटरसाइकलमा कुरी बसेका हतियारधारीले गोली हानी भागेको उनले बताए ।
आलमसँगै रहेका एमाले ४ का क्षेत्रीय अध्यक्ष राम क्षेत्रीसँग प्रहरीले विशेष सोधपुछ गरिरहेको छ । बाराका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले उम्मेदवारलाई सुरक्ष्ाा सतर्कता अपनाउन आग्रह गरेको बताए । 'चुनाव प्रचारमा जाँदा नजिकको प्रहरीसँग समन्वय गरी जान भनेको छु,,' उनले भने ।
प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सिमाना 'सिल' गरी आक्रमणकारीको खोजतलास भएको बताए । घाइते आलमलाई वीरगन्जस्थित नेसनल मेडिकल तथा शिक्षण अस्पताल पुर्याएकोे ४० मिनेटपछि मात्र प्रहरी आएको कार्यकर्ताले गुनासो गरे । अस्पतालका इमरजेन्सी सेवा प्रमुख डा. इस्लाम मन्सुरले आलमको टाउकाको दाहिने भागमा १ सेन्टिमिटर गोलाइको घाउ देखिएको बताए ।
थप उपचारका लागि आलमलाई दिउँसो करिब २ बजे नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको थियो । आक्रमणको विरोधमा आक्रोशित कार्यकर्ताले परवानीपुरमा सडक अवरुद्ध पारी आवागमन ठप्प पारेका थिए । एमाले जिल्लाका प्रचार विभाग प्रमुख कृष्ण पौडेेलले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै घटनाको उच्चस्तरीय छानबिन माग गरेका छन् ।
बाराको लिपनीमाल-१ निवासी आलमका श्रीमती र ३ छोरा छन् । आलम २०५६ सालको संसदीय चुनावमा कांग्रेसका फरमुल्ला मन्सुरका निकटतम प्रतिद्वन्द्वी थिए भने २०६४ को संविधानसभाको चुनावमा तमलोपाका जीतेन्द्र सोनलसँग पराजित भएका थिए ।See More

