Friday, October 4, 2013

म्यादी प्रहरीमा लाइदिने भन्दै भोट माग्दै

१८ असोज, पर्सा । सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर भोट माग्ने क्रम बढेको छ । केही उम्मेदवारले युवालाई म्यादी प्रहरीमा भर्ना गराईदिने प्रलोभन दिएरसमेत भोट माग्न थालेका छन् । आफूलाई भोट दिए, आफ्नो दलमा प्रवेश गरे वा चुनावमा आफ्नो पक्षमा प्रचारप्रसार गरेर सहयोग गरेको खण्डमा म्यादी प्रहरीमा जागिर लगाइदिने प्रलोभन र आश्वासन उनीहरुले बाँडेका छन् ।
बेरोजगार युवालाई म्यादी प्रहरीमा भर्ना गराए सहानुभूति पाइने भएकाले धेरै उम्मेदवारले भोट तान्न यस्तो उपाय थालेको कान्तिपुर दैनिकमा खबर छ । प्रहरी प्रमुखसँग राम्रो सम्बन्ध भएको दाबी गर्दै चुनावी प्रचारमा रहेका ठूला तथा साना दलका उम्मेदवारले म्यादी प्रहरीका लागि दरखास्त दिएका युवालाई आफ्ना पक्षमा पार्न कसरत गरेका छन् । भर्ना गराईदिन बिचौलियाले २ हजारदेखि ५ हजारसम्म माग्दै हिँडेका एक आवेदनकले बताए । चुनाव अवधिसम्म म्यादी प्रहरीमा भर्ना हुँदा १ जनाले करिब ३१ हजार तलब पाउँछन् । म्यादी प्रहरीले प्रहरी जवान बराबरको तलब सुविधा पाउँछन् ।
बिरन्चीबर्वाका युवा तथा एमालेबाट समानुपातिकतर्फका उम्मेदवार सिफारिस अनुप तिवारी साना दल मात्र नभई आफूलाई ठूला र चर्चित उम्मेदवार दाबी गर्नेहरुसमेत म्यादी प्रहरीमा भर्ना गराइदिने प्रलोभन बाँड्दै हिड्ने गरेको बताए । पोखरियाका सामाजिक कार्यकर्ता धर्मेन्द्र चौरसियाले पनि दलका उम्मेदवार र नेता मात्र नभई दलआबद्ध नभएका केही दलाल प्रवृत्तिका व्यक्तिले पनि गाउँ गाउँमा यो अभियान चलाएको दाबी गरे ।

No comments:

Post a Comment