इलाम, श्रावण १२ - संविधानसभा निर्वाचन बहिष्कार गरी आन्दोलनमा उत्रिएको मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषद् (कुमार लिङदेन) र संवैधानिक राजनीतिक संवाद तथा सहमतिअन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिबीच दुईबुँदे सहमति भएको छ ।
अाइतबार राति अबेरसम्म चलेको वार्तामा परिषद् र उपसमितिबीच भएको वार्तामा संविधानसभाको निर्वाचन ताका पक्राउ परी ताप्लेजुङ कारागारमा रहेका रक्की थेबेलगायतका कार्यकर्ता रिहाइ गर्न र उनीहरूमाथि लगाइएका मुद्दा फिर्ता लिन उपसमितिले सरकारसँग पहल गर्ने र संविधान निर्माणको कार्यप्रति सकारात्मक प्रतिबद्धता व्यक्त गर्दै वार्ता प्रक्रिया अघि बढाउन विश्वासको वातावरण तय गर्ने सहमति भएको हो ।
संविधान निर्माण प्रक्रियामा सबैको सहभागिता होस् र संविधान निर्माणपछि आउने अन्तरविरोध कम होस् भन्ने उद्देश्यले गत संविधानसभा निर्वाचनमा भाग लिएका र नलिएका तथा सशस्त्र गतिविधि गरिरहेका समूहसँग वार्ता सुरु गरिएको हो’ सभासद् भीष्मराज आङदेम्वबेले भने ।
उपसमितिले उनीहरूसँग छुट्टाछुट्टै वार्ता गरेको थियो । सरकारी वार्ताटोलीमा उपसमिति संयोजक ढुङ्गाना, सभासद् शक्ति बस्नेत, सुरेन्द्र पाण्डे, शर्वेन्द्रनाथ शुक्ला, भीष्मराज आङदेम्वे, अशोक राई, आरके खम्बु, रबिन कोइराला, गृह र शान्ति मन्त्रालयका सहसचिव सहभागी छन् ।


