Friday, September 27, 2013

एमालेले चरिमायालाई समानुपातिकमा सिफारिस, उनले भनिन्–‘नो थ्याङ्क्स’


आसन्न दोस्रो संविधानसभाको निर्वाचनमा विभिन्न ठूलासाना राजनीतिक दलहरूमा राजनीतिक साथसाथै गैरराजनीतिक चरित्रका तर, नाम चलेका दर्जनौ प्रभावशाली व्यक्तिहरूले प्रभावका आधारमा आफ्नो नाम जसरी पनि उम्मेदवारका रुपमा समावेश गर्ने प्रतियोगितात्मक शैलीमा लागिरहेका बेला शक्ति समुहकी अभियानकर्ता चरिमाया तामाङले भने आफूलाई निर्वाद र सहज रूपमा आउनसक्ने सिटको छनोट प्रक्रियामा नपुग्दै अस्वीकार गरेकी छन् ।  
 
आफ्नो नाम नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले क्षेत्र नं ३ को प्रतिनिधित्व गर्ने गरी समानुपातिक कोटातर्फ केन्द्रमा पठाएको थाहा पाएपछि मानव तस्करी विरूद्धको अभियानमा सक्रिय भूमिका निर्वाह गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाउन सफल महिला चरिमायाले पार्टीका केन्द्रीय नेताहरूलाई फोनगरी आफ्नो नाम पार्टीको लिष्टमा नराख्न अनुरोध गरेकी छन् ।
 
यसबारे फोनमार्फत जिज्ञासा राख्दा, चरिमायाले भनिन, ‘एमाले पार्टीले शक्ति समूहको राष्ट्रिय अभियानलाई पनि सम्बोधन गर्ने र यसले उठाउँदै आएको मुद्दालाई संविधानसभामा अझ सशक्त ढंगले उठाउन चाहेर मेरो नाम पनि समावेश गर्न लागेको हुन सक्दछ । त्यसका लागि एमाले पार्टी र यसको नेतृत्वलाई धन्यवाद’ । 
 
तर, आफू एउटा पार्टी विशेषको कार्यकर्ता भन्दापनि समाजिक अभियानमा लागेको व्यक्ति भएकोले त्यसरी कुनै पार्टीको झण्डा लिएर अगाडि बढ्दा उनीहरूले चलाउँदै आएको शक्ति समूहकै सिंगो अभियानमा नै असर पर्न सक्ने आशंकाले एमाले नेताहरूलाई आफ्नो नाम पार्टी लिष्टमा नराख्न अनुरोध गरेकी हुँन् ।
 
त्यस अतिरिक्त आफू एउटा महत्वपूर्ण राष्ट्रिय अभियानमा लागिरहेको र अझै त्यस अभियानलाई सफल बनाउन धेरै कामहरु गर्न बाँकी रहेको भन्दै चरिमायाले भनिन्, ‘मैले दुबै खाले दायित्व (संविधान निर्माण सँगै शक्ति समूहको अभियान) सँगै लिएर अघि बढ्दा आउनसक्ने कठिनाईहरूको पूर्वअनुमान गरी वर्तमानमा आफूले चलाउँदै आएको अभियानमा मात्र केन्द्रीत रहने सोचले मैले यस्तो निर्णय गरेकी हुँ’ । 
 
आफ्नो सामाजिक अभियानलाई देशभरी प्रभावकारी ढंगले फैलाउने क्रममा रहेकी चरिमायाले थप्दै भनिन्, ‘वर्तमानमा मेरो सम्पूर्ण ध्यान आफ्नो अभियानमा केन्द्रीत भएकोले त्यसबाट अन्यत्र मोडिएर अहिल्यै नै संविधानसभामा गएर केही गर्छु भन्ने मानसिक रुपमा पनि म तयार भएकी छैन’ ।
 
तपार्इँ जस्तो व्यक्ति संविधानसभा सहभागी हुँदा तपाईको अभियानमा अझबढी बल पुग्नसक्थ्यो कि भन्ने प्रश्नको जवाफमा चरिमायाले भनिन, ‘सबै वर्ग र समुदायका व्यक्तिले आफ्ना मुद्दाहरुको समाधान गर्न आफै संविधानसभामा पुग्नुपर्छ भन्ने छैन । त्यहाँ पुग्ने दल र त्यीनका प्रतिनिधिहरुसँग बाहिरै बसेर पनि सहकार्य गर्दै आफ्ना मुद्दाहरुको उचित समाधान खोज्न पनि सकिन्छ’ । 
 
एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाइका अनुसार, एमाले केन्द्रीय कार्यालयको परिपत्र अनुसार सिन्धुपाल्चोक जिल्ला कमिटीले क्षेत्र नं ३ बाट समानुपातिक कोटाका लागि चरिमायाको नाम समाबेश गरि भदौ २१ गते जिल्लाका तीनै क्षेत्रका सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाएको थियो ।
 
‘तर जब विभिन्न संचारमाध्यमले चरिमायाको नाम पनि एमालेको समानुपातिक कोटामा सिफारिस भनि समाचार संप्रेसण गरे तब उनले भदौ २७ गते फोनगरी पार्टीले आफूलाई पनि सूचिमा समावेश गरेकोमा धन्यवाद दिदै तर यहि नै आफ्नालागि ठुलो सम्मान हो भन्दै अब यसभन्दा अगाडी नबढाइदिनु होला भनि आग्रह गर्नु भयो,’ नेता तामाइले भने । 
 
जिल्लाले चरिमायाको नाम सिफारिस गर्नुपूर्व उनीसँग छलफल गरेको थिएन भन्ने प्रश्नको जवाफमा नेता तामाइले भने उनीसँग यसको सम्भावनाबारे सामान्य परामर्श गरे पनि निर्णय यस्तो हुदैछ भनेर भनेको वा उनको सहमति खोजेको थिएन ।  
 
नेता तामाङका अनुसार, केन्द्रीय तहका नेतासँग एकचरणको सरसल्लाह पछि पाटीको सक्रिय सदस्य र राष्ट्रिय अन्तराष्ट्रियस्तरमा पनि ख्याति कमाएको व्यक्तिलाई सविधानसभामा पठाउँदा एक हिसावले उनीजस्ता महिलाको अभियानमा व्यवहारिक रूपमा नै पार्टी ऐक्यबद्दता रहेको सावित हुनुको साथै उनी जस्ता सामाजिक अभियानकर्ताको उचित सम्मान हुने र त्यसले पार्टीप्रति जनताको सकारात्मक प्रभाव दिनसक्ने विश्वास उनको नाम केन्द्रमा पठाएका
 
‘तर उहाँ स्वयम्ले नै बस्न अस्विकार गरेपछि पार्टीले उनका बारेमा छलफल अगाडी बढाउन स्वभाविक रुपमा पनि सक्दैन’, नेता तामाङले भने । 
 
महिला बेचबिखनविरूद्धको अभियानमा संलग्न भई महत्वपूर्ण भुमिका निर्वाह गरेका विश्वका १० महिलामध्ये चरिमायालाई नेपालको तर्फबाट चयन गरी अमेरिकी सरकारले सन २०११ को ‘वर्ष हिरो एक्टिङ टु इन्ड मोर्डन डे स्लेभ’ अवार्डबाट सम्मानीत गरेको थियो । त्यस अघि सन २००७ मा नेपाल सरकारले पनि चरिमायालाई सो अभियान सञ्चालन गरेकोमा सम्मान गरेको थियो ।
 
सिन्धुपाल्चोक जिल्लाको विपन्न परिवारमा जन्मेकी चरिमाया १६ वर्षको हुँदा आफन्तको फन्दामा परि भारतको कोठीमा बेचिएकी थिइन । जहाँ उनले २२ महिनालामो नारकीय जीवन बिताउन परेको थियो । पछि सन १९९६ मा भारत सरकारको सहयोगमा अरू २०० उनीजस्तै बेचिएका चेलीहरुलाई फर्काउने क्रममा नेपाल फर्केपछि सामाजिक बहिस्कारमा परेकी चरिमायाले सहासिक कदम चाल्दै अपराधीहरुलाई अदालतको कठाघरामासम्म पुर्‍याई कानुनी कारबाही दिलाउन सफल भएकी थिइन ।
 
त्यस पश्चात उनले आफुजस्तै पिडित अरु १४ जना महिलाहरुलाई साथमा लिई शक्ति समुहको नाममा एउटा संस्था स्थापना गरी मानवबेचबिखन विरुद्दको राष्टिय अभियान संचालन गर्दै आएकी छन् । 
- See more at: http://setopati.com/raajneeti/4278/#sthash.4isFmj2r.dpuf

No comments:

Post a Comment