काठमाडौ, भाद्र १४ -
किरात याक्थुङ चुम्लुङ (कियाचु) का अध्यक्ष उत्तमसिंह थाङदेनले संघीय राज्यमा
लिम्बुवान सुनिश्चित नभएसम्म सामाजिक आन्दोलन जारी राख्ने बताएका छन् । लिम्बू
जातिको सामाजिक संस्था कियाचुको २५ औं स्थापना दिवसका सन्दर्भलाई लिएर शुक्रबार
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त विचार व्यक्त गरेका हुन् । 'लिम्बुवान
लिम्बु जातिकोमात्र होइन, ऐतिहासिक आधारमा संघीय राज्य निर्माण हुँदा त्यही नाम
कायम हुनुपर्छ भन्ने हाम्रो एकमात्र माग हो,' संस्थाका संस्थापकसमेत रहेका थाङदेनले
भने, 'चुम्लुङ लिम्बुवान क्षेत्रको अन्य जनसमुदायसँग समन्वय कायम गर्दै लिम्बू
जातिको सशक्तिकरण गर्न सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक र मौलिक हकअधिकार
प्राप्तिको लागि लडिरहनेछ ।'
२०४६ भदौ १७ गते स्थापित उक्त संस्थाले लिम्बू जातिको एकता र इतिहास, भाषा,
लिपि, साहित्य, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन कार्यको अगुवाई गर्दै आएको
जनाइएको छ । संस्था स्थापनाको २५ बर्षमा किराचुले सामाजिक तथा आर्थिक विकास,
साम्प्रदायिक सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकता र राष्ट्रिय संस्कृति
निर्माणका साथै राजनीतिक अधिकार प्राप्तिमा सरकार र राजनीतिक दलहरुसित आफ्ना
मुद्दाप्रति ध्यानाकर्षण गराउँदै आएको अध्यक्ष थाङदेनले उल्लेख गरे । उनीहरुले
पूर्वी नेपालको अरुणपूर्वका ९ जिल्लालाई 'लिम्बुवान' कायम हुनु भन्दै आएका छन् ।
तथ्यांकअनुसार लिम्बुवान क्षेत्रमा ३५ लाख जनसंख्या रहेको र त्यसमा ३ लाख ८७ हजार
लिम्बू जाति रहेका छन् ।
'लिम्बूको पहिचान र पुख्यौली थातथलोसँग अनन्य सम्बन्ध राख्ने लिम्बुवान
क्षेत्रलाई नेपालको एक अभिन्न राज्य बनाउनु पर्ने हाम्रो अडान छ,' अध्यक्ष थाङदेनले
भने, 'चुम्लुङले लिम्बूहरु, लिम्बुवानबासीहरु, लिम्बुवानको राजनीतिक शक्तिहरु,
राष्ट्रिय राजनीतिक शक्तिहरुबीच र विघटित संविधानसभाका सदस्यहरुबीचमा गरेको अथक
पैरबीका साथै संघीयता र स्वायत्त पक्षधरहरुबीच समन्व गर्दैआएको छ ।' पहिचानसहितको
संघीयता र संविधानसभाबाटै संविधानको पक्षमा रहेको जनाइएको छ ।
चुम्लुङले 'आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठान र पहिचान, लिम्बुवान
राष्ट्रिय जागरण, कियाचु युप्पा तङबेरे हेक्याम्' नारासहित रजत महोत्सवको तयारी
गरेको जनाएको छ । चुम्लुङकी महासचिव लीला सिङ्गक लिम्बूले रजत वर्षका अवसरमा
उपराष्ट्रपति परमानन्द झाबाट विशेष समारोहको उद्घाटन हुने, पच्चीस वर्षको समीक्षा
गर्दै लिम्बुवान जागरण अभियानका विषयमा देशव्यापी विभिन्न सचेतना कार्यक्रम गरिने
बताइन् । त्यसैगरी भाषिक, सांस्कृतिक अनुष्ठान, साहित्यिक, महोत्सव तथा प्रदर्शनी
गरिनेछ ।
का स ,प्रकाशित मिति: २०७० भाद्र १४ ०३:४२

No comments:
Post a Comment