'मजस्तै दुःख पाएकालाई दिनू'
अरु पनि छन् खतरामा
युएई, फाल्गुन २५ - एक पाकिस्तानीको हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाइए पनि 'ब्लडमनी' तिरेर माफी पाउन लागेका अनिश खालिङ राईले ब्लडमनी तिरेर बाँकी रहेको रकम आफ्नो परिवारलाई दिनु नपर्ने स्पष्ट पारेका छन् ।

झन्डै डेढ बर्षदेखि युएईको अल एनस्थित जेलमा रहेका राईले अनिश बचाउ समिति युएई तथा किरात राई यायोख्खाका प्रतिनिधिसँगको भेटमा यस्तो बताएका हुन् । लामो प्रयासपछि यूएईस्थित नेपाली राजदुताबासको पहलमा एनआरएनए युएईका अध्यक्ष तथा अनिश खालिङ बचाउ समिति युएईका संयोजक कृष्ण भुसाल, अनिश खालिङ बचाउ समिति युएईका प्रबक्ता तथा किरात राई यायोख्खा युएइका अध्यक्ष उमेश राई र किरात राई यायोख्खा युएईका संस्थापक अध्यक्ष खटक राई अल एनस्थित अनिशलाई राखिएको जेलमा भेट्न गएका थिए । एकसाता अघि यूएई भ्रमणमा आएका एनआरएन अध्यक्ष शेष घलेले अनिशलाई भेट्न खोजेको भए पनि भेट्न पाएका थिएनन् ।
भुसालका अनुसार ४ घण्टा कुरेपछि दुतावासको पत्रका आधारमा जेल प्रशासनले अनिशसँग भेट्ने अनुमति दिएको थियो । करिब ४५ मिनेटको भेटमा अनिशले पाकिस्तानीले अप्राकृतिक यौन सम्बन्ध राख्न खोज्दा भएको प्रतिकार, घटना कसरी भयो र कसरी प्रहरीले पक्रियो भन्नेबारेबारे सबै विवरण सुनाएका थिए ।
एनआरएनए अध्यक्ष भुसालले अनिशले आफुलाई बचाउनका लागि विश्वभर रहेका नेपालीहरुले आवश्यक भन्दा बढी रकम सहयोग गरेकोमा आभार व्यक्त गरेका थिए । 'मेरो जीवन रक्षा नै सबैभन्दा ठुलो कुरा हो, म सहयोग गर्नुहुने सबैलाई विशेष धन्यबाद दिन चाहन्छु । ब्लडमनी तिरेर बाँकी रहेको रकम म र मेरो परिवारलाई दिनु पर्दैन, त्यो रकम म जस्तै आपत विपतमा परेका नेपालीलाई सहयोग गर्ने काममा खर्च गरियोस्,' अनिशको भनाइ उधृत गर्दै भुसालले भने, 'विशेष गरेर यूएई र विश्वब्यापी रुपमा नेपालीहरुले अभियानको रुपमा अनिशलाई बचाउन आबस्यकता भन्दा धेरै रकम उठाउनु भएकोमा रकम उठाएर सहयोग गर्ने सबैलाई अनिशले बिशेष धन्यबाद ज्ञापन गर्नुभएको छ ।'
भुसालका अनुसार भेटको क्रममा अनिशले युएइको अदालतको फैसला अनुसार ब्लडमनी तिरेपनि आफु तत्काल जेलमुक्त नहुने र अदालतले तोकेको र युएईको कानुनले निर्धारण गरे अनुसार ५ बर्षको जेल सजाय ९ महिनामा १ बर्षका दरले ४५ महिनामा मात्र समाप्त हुने जानकारी गराएका थिए । अनिश सन् २०१२ को अगस्ट २४ मा जेल चलान भएका थिए । घटना २०१२ को अगस्ट २ मा भएको थियो ।
अनिशलाई आठ महिनाअघि अबुधाबीस्थित तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । माथिल्लो अदालतले दुई महिना अघि तल्लो अदालतको फैसला सदर गरेपनि ब्लडमनीको विकल्प खुला गरेको थियो । अनिश पक्राउ परेपछि दुताबासका कर्मचारीसँग कुराकानी भएपनि हालसम्म नेपालीले भेट्न पाएका थिएनन् ।
ब्लडमनीका लागि युएईबाट २४ लाख
यसैबीच अनिश खालिङ बचाउ समिति युएईको शुक्रबार सम्पन्न बैठकले अनिशलाई ब्लडमनीका लागि युएईबाट हालसम्म संकलित रकमको अन्तिम विवरण सार्बजनिक गर्दै उक्त रकम सशर्त अनिशकी पत्नी रविता र अनिश बचाउ समिति नेपालका संयोजक नारद राईको नाममा पठाउने निर्णय गरेको छ ।
अनिश खालिङ बचाउ समिति युएईको बैठकले अनिश बचाउ अभियानका क्रममा संकलित रकममध्ये ब्लडमनी तिरेर बाँकी रहेको रकम अन्य परोपकारी काममै लगाउनु पर्ने निर्णय पनि गरेको छ ।
अरु पनि छन् खतरामा
अनिश ब्लडमनी तिरेर बच्ने निश्चत भएपनि यूएईमै केही नेपालीको जीवन खतरामा परेको छ ।
एक भारतीय नागरिक सरद कुमार सेठ्ठिको हत्यामा संलग्नताको आरोपमा मृत्यूदण्डको सजाय तोकिएका दार्चुला धारी गाविसका अमरवहादुर बम २००३ देखि जेलमा छन् । सबै अदालती फैसलापछि पनि सरकारले पहल नगर्दा जेलमै छन् ।
कम्पनीमा काम गर्ने क्रममा मेसिन चलाउँदा भएको दुर्घटनामा पाकिस्तानी नागरिकको मृत्यु भएपछि स्याङजा पुतलीबजार २ का थमबहादुर कुँवरलाई क्षतिपूर्ति अर्थात ब्लडमनी वापत २ लाख दिराम (५६ लाख नेपाली रुपैयाँ) तिर्न कम्पनीले दवाव दिइरहेको कुबरले हालसालै सञ्चारकर्मीलाई बताएका छन् । सन् २०१२ को डिसेम्बर १२ मा उक्त घटना भएको थियो ।’
केही दिन जेल बसेर छुटेपछि कम्पनीले फेरी काममा लगाएको र तलब पनि दिइरहेको छ तर कम्पनीले ब्लडमनी तिर्न दवाव दिएपछि आफू समस्यामा परेको उनी बताउँछन् । उनलाई यूएई बाहिर जान प्रतिबन्ध लगाइएको बताइएको छ ।
यसअघि केही बर्ष पहिले युएईमा हत्या आरोपमा मृत्युदण्डको सजाय तोकिएका दुर्गाबहादुर सुनुवार ब्लडमनीबाटै बचेका थिए । दुई महिना अघि एक बच्चाको हत्या आरोपमा घरेलु कामदारको रुपमा कार्यरत एक महिला दुबईमा पक्राउ परेकी छिन् । उनको नाम खुलाइएको छैन । उनलाई काम गर्ने घरकै बच्चालाई मारेको आरोप उनीमाथि लागेको छ ।
त्यस्तै यसै साता काठमाण्डौंक घर भएकी रचना महर्जनको रहस्यमय र शंकास्पद हत्या भएपछि गत मंगलबार दुबईमै झापाका एक युवालाई प्रहरीले पक्रेको छ । झापा सुरुङ्गाका युवा भट्टराई थरका भएको बताइएको छ । -अम्बिका भण्डारी/यूएई
kantipur.com
No comments:
Post a Comment