>>अघिल्लो संविधानसभालाई 'रबरस्ट्याम्प' बनाइयो
काठमाडौं, माघ १४ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र, हिन्दु राष्ट्रलगायत एजेन्डामा दलहरू सहमत नभए जनमतसंग्रह गरी टुंगो लगाउनुपर्ने धारणा अघि सारेका छन् । मंगलबारदेखि राजधानीमा सुरु भएको पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफ्ना मूलभूत एजेन्डामा कसैसँग सम्झौता नहुने बताए ।
'मूलभूत एजेन्डा कायम राख्ने गरी संविधान लेख्न हामी सम्झौता गर्न सक्छौं । तर, एउटा एजेन्डा छाडेर अर्कोमा जाने गरी साटासाटको सम्झौता हामी कदापि गर्दैनौं,' देशभरका प्रतिनिधि सहभागी सम्मेलनमा थापाले भने ।
दोस्रो संविधानसभामा चौथो शक्ति भएलगत्तै राप्रपा नेपालले सनातन हिन्दु राष्ट्रमा अडान लिई बाँकी छाड्न सक्ने टिप्पणी कतिपयले गरेका थिए । थापा स्वयंले पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा 'सम्झौता गर्न सकिन्छ' भन्ने अभिव्यक्तिलाई त्यसरी टिप्पणी गरिए पनि त्यो सम्भव नरहेको उनले प्रस्ट्याए ।
अन्य ठूला दलले इमानदारी देखाए एक वर्षभित्रै संविधान लेखन सम्भव भएको उल्लेख गर्दै थापाले अब पार्टीले ३ वटा लक्ष्य राखेको बताए । पहिलो पार्टीको सिद्धान्त र विचारलाई संस्थागत गरी संविधानमा लेख्ने, दोस्रो स्थानीय चुनावमा कम्तीमा एक तिहाइ सिट हासिल गर्ने र तेस्रो अब हुने संसदीय चुनावमा आफ्नो पार्टीलाई पहिलो पंक्तिमा उभ्याउने लक्ष्य राखेकाले त्यसैअनुसार संगठन सुदृढ गर्न सबैलाई निर्देशन दिएका थिए ।
पार्टीका केन्द्रीय सदस्य, पदाधिकारी, सल्लाहकार, सबै जिल्ला अध्यक्ष, सभासद र निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवार सम्मेलनमा सहभागी छन् । कार्यक्रममा थापाले विचारका हिसाबले आफ्नो पार्टी बलियो भए पनि संगठन कमजोर हुँदा संविधानसभामा सोचेअनुसार सिट हासिल गर्न नसकेको बताएका थिए ।
संविधानसभाभन्दा बाहिरका गैरसंवैधानिक शक्तिसँग सिन्डिकेट गरी अघिल्लो संविधानसभालाई 'रबरस्ट्याम्प' बनाइएको आरोप लगाउँदै अब त्यसो गर्न नदिइने दृढतासमेत उनले राखे ।
कार्यक्रममा बोल्दै पार्टी सहअध्यक्ष पदमसुन्दर लावती, उपाध्यक्ष धवलशमशेर जबरा, वरिष्ठ नेता केशरबहादुर विष्ट, महामन्त्री चन्द्रबहादुर गुरुङसहितले संगठन विस्तारमा ध्यान पुर्याई पार्टीको आकार बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले जतिसक्दो चाँडो स्थानीय चुनाव गर्नुपर्ने धारणासमेत राखे । सम्मेलनमा अध्यक्ष थापाले राजनीतिक र महामन्त्री गुरुङले राखेको संगठन विस्तारसम्बन्धी प्रतिवेदनमा छलफल हुनेछ ।
ekantipur प्रकाशित मिति: २०७० माघ १४ ०८:३३
No comments:
Post a Comment