संविधान सभा निर्वाचनका लागि निर्वाचन आयोगले १५ अर्ब रुपैयाँभन्दा बढीको बजेट र ४ लाखभन्दा बढी जनशक्ति परिचालन गर्यो। निर्वाचनका नाममा दाताहरुले गरेको खर्चको लेखाजोखा हुनै बाँकी छ। त्यो पनि अर्बौं छ।यत्रो ठूलो स्रोतसाधन खर्चेर पनि निर्वाचन आयोगले एउटा अति सामान्य प्रश्नको जवाफ दिन सकेको छैन। आयोगलाई पहाड लागेको त्यो प्रश्न हो– संविधान सभा निर्वाचनमा कति मतदान भयो? मतदान सकिएको दस दिन भइसक्दा पनि आयोगसँग यसको जवाफ छैन।
‘अझ दुई क्षेत्रमा समानुपातिक तर्फको मतगणना बाँकी छ। कतिपय ठाउँमा गन्ती भइरहेको छ। सबै क्यालकुलेसन गरेपछि मात्र भन्न सकिएला,’ आयोग प्रवक्ता वीरबहादुर राईले भने।
समानुपातिक मात्र हैन, चार दिनअघि नै गणना सकिएको प्रत्यक्ष तर्फको कूल मतदाता कति थिए? सदर मत र बदर मत कति हो भन्ने समेत आयोगले बताउन सकेको छैन।
‘प्रत्यक्षमा ९० लाख हाराहारी मतदान भएको छ भन्ने हाम्रो अनुमान हो,’ राईले भने, ‘आइटी (सूचना प्रविधि) शाखाले यसलाई जोड्ने काम गरिरहेको छ ।’
आयोग प्रवक्ताकै शब्दमा अहिलेसम्म आयोगसँग ‘लमसम फिगर’ मात्र छ। निर्वाचन सम्पन्न भएको दिनको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दिएको ‘लमसम’ तथ्याङ्क र अहिले आनको तान फरक परिसकेको छ ।
मंसिर ४ गते साँझ भएको पत्रकार सम्मेलनमा आयोगले ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको थियो। त्यसअनुसार ७८ लाख चानचुन मतदान भएको हुनुपथ्र्यो। कुल मतदाता १ करोड २१ लाख छन्। भोलिपल्ट आयोगले त्यो तथ्य सुधार्यो र ७० प्रतिशत आसपास भन्यो। त्यसअनुसार ८५ लाख आसपास मतदान भएको हुनुपर्ने हो।
त्यसमा पनि आयोग नराम्ररी फेल खाने देखिएको छ। किनकि आयोगको वेबसाइटमा बिहीबार दिउँसोसम्म राखिएको विवरणअनुसार ९३ लाखभन्दा बढी भोट सदर नै भइसकेको छ। कतिपय क्षेत्रमा गणना जारी छ।
बदर मतको अहिलेसम्मको संख्याबारे पनि आयोगसँग जवाफ छैन। तैपनि ४ लाख भन्दा बढी भोट बिग्रेको निश्चित छ। यही तथ्यालाई सही मान्ने हो भने खसेको मत कम्तीमा ९७ लाख हुने देखिन्छ। यो कुल मतदाताको ८० प्रतिशतभन्दा बढी हुन्छ। आयोगले सुरुमा गरेको अनुमान भन्दा १९ लाख बढी मतगणना भइसकेको छ।
स्रोतसाधन सम्पन्न र ‘सुशिक्षित’ अधिकारीहरुले सुसज्जित आयोगबाट किन यस्तो त्रुटि? ‘हामीले जिल्लामा खसेको मतदानको प्रतिशत निकालेर क्यालकुलेसन गर्यौं,’ प्रवक्ता राईले भने, ‘सबैतिरको प्रतिशतलाई फेरि ७५ जिल्लाले भाग गरेर राष्ट्रिय प्रतिशत निकाल्यौं।’
जिल्लाले कुल मतदान संख्या नटिपाएर प्रतिशत टिपाएकाले पनि यो गडबडी भएजस्तो उनलाई लाग्छ। आयोगले प्रतिशत निकाल्दा पहिले जुन गल्ती गर्यो, अर्को दिन त्यसलाई सच्याउँदा पनि त्यही दोहोर्याएको देखियो। कक्षा ८/९ मा अंकगणितमा पढाइ हुने प्रतिशत निकाल्ने तरिकाको हेक्का राखेको भए पनि आयोगबाट यस्तो त्रुटि हुन्नथ्यो।
पचहत्तर जिल्लाबाट खसेको मतको संख्याको योगफललाई देशभरको कुल मतदाताले भाग गरेको भए सजिलै हिसाब निस्किन्थ्यो। तर आयोगको त्यो कमजोरीले गर्दा निर्वाचन परिणामबाट बिच्किएकाहरुले नयाँ निहुँ पाएका छन्। धाँधली भएको हो भन्नेहरुलाई पनि यसले ठाउँ दिएको छ।
त्यही दिन निकाल्न सकिने खसेको कूल मतसम्म १० दिनसम्म निकाल्न नसकेर आयोगले थप आलोचनाको मौका दिएको छ।
No comments:
Post a Comment